Sat. Mar 15th, 2025

उपन्यासले आँखामा आँशु टलपलाउनेदेखि मनलाई रोमाञ्चक बनाउँछ

sabin prayasanसविन प्रियासन, साहित्य एवं पत्रकारिता क्षेत्रमा चर्चित नाम हो । दाङमा पत्रकारिता गरिरहनुभएका प्रियासन पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं राप्ती अञ्चल इञ्चार्ज समेत हुनुहुन्छ । यस बाहेक नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार, राप्ती साहित्य परिषद्का केन्द्रीय महासचिव समेत हुनुहुन्छ । दुईवटा उपन्यास, एकवटा कथा संग्रह, एकवटा सम्पादकीय संग्रह प्रकाशित गर्नु भएका प्रियासनका फूटकररुपमा कथा, कविता, लेखहरु विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित हुँदै आएका छन् । प्रस्तुत छ, साहित्यकार प्रियासनसँग उहाँले प्रकाशित गर्न लाग्नुभएका उपन्यासमा आधारित रहेर गरिएको कुराकानीको सारसंक्षेप ।

नायिका नम्रता श्रेष्ठको जीवनमा आधारित उपन्यास नम्रता निकाल्ने तयारी गर्दा गर्दै पुनरागमन उपन्यास निकाल्न लाग्नु भयो, कारण ?
 पुनरागमन उपन्यास नायिका नम्रता श्रेष्ठको बारेमा उपन्यास लेख्ने क्रममा नै मैले लेखेको हुँ । पुनरागमन उपन्यासलाई नम्रता उपन्यास पछि नै निकाल्छु भन्ने सोचेंको थिए । तर पुनरागमन उपन्यास बजारमा पहिले प्रकाशन हुन लागि रहेको छ । यसमा अरु कुनै त्यस्तो कारण छैन, दुबै उपन्यास तयार थियो । नम्रता उपन्यास जिउँदो मान्छेको कथा भएकाले त्यसलाई हतारमा निकाल्दा त्यति राम्रो नहुने देखेर यो निकाल्न लागेको हुँ ।

पुनरागमनमा पाठकहरुले के अध्ययन गर्न पाउँछन्, कस्तो सन्देश छ यसमा ?
– पुनरागमन उपन्यासलाई मैले संघर्षको आयाम बनाउन खोजेको छु । समाजमा घटेका थुप्रै विषय बस्तुहरु यसमा समेटिएका छन् । पुस्तकको मुख्य विषय बस्तु भनेको पत्रकारिताको वरपर केन्द्रीत छ । त्यसमा पनि पत्रकार महिलाहरुले पत्रकारिता क्षेत्रमा लाग्दा के कस्ता अफ्ठ्याराहरु झेल्नुपर्छ, उनीहरु किन यो क्षेत्रमा टिक्न सक्दैनन् । समस्या र सम्भावना के छ भन्ने कुराहरु उपन्यासमा देखाउन खोजिएको छ ।

उपन्यासको मुख्य पात्र अबिबाहित आमाको कथा हो पुनरागमन भनेर चर्चा छ त ?
 हो उपन्यासको मुख्य पात्र जो पत्रकार महिला हुन्छिन् । उनी अबिबाहित आमा भएकाले समाजमा, पत्रकारिताको क्षेत्रमा समेत यी सबै यथार्थताका बीचमा मुख्य पात्र कसरी अगाडि बढ्छ भन्ने कुरा यसमा देखाइएको छ ?

तपाई पत्रकार पनि, कतै पुनरागमनमा आफ्नै कथा त समावेश छैन ?
 उपन्यास अरुको कथा बस्तुमा लेख्न लाग्दा पनि यसको गहिराईमा कथाकार डुव्नै पर्दछ । लेख्नेक्रममा उक्त घटना आफूसँग घटेको हो भन्ने गहिराईभित्र नडुव्ने हो भने कथामा जीवन्तता आउन सक्दैन । यो अर्थमा भन्ने हो भने पुनरागमन मेरो पनि कथा हो । जहाँसम्म म आफै पत्रकार पनि भएकाले यो विषयमा लेख्दा सञ्चार क्षेत्रमा के कस्ता अफ््ठ्याराहरु छन्, यसमा चुनौती र सम्भावना के कस्ता छन् भन्ने कुरा मेरो लागि नौलो होइन । पुनरागमन मेरो जीवनसँग जोडिएको विषय बस्तु भने होइन ।

त्यसो भए कस्तो कथा हो त ?
 पुनरागमन मैले कल्पनामा डुबेर लेखेको उपन्यास हो । प्रवृत्तीगतरुपमा यस्ता घटनाहरु हुन्छन् । ठ्याक्कै यो मान्छेको कथा हो भन्ने सवालमा कल्पना नै हो पुनरागमन ।

उपन्यासले पाठकको मन जित्ला ?
 मैले त जित्छ भन्ने उद्देश्यले नै यो लेखेको हुँ । अरु कुरा त उपन्यास पढेपछि पाठकहरुको प्रतिक्रिया पछि नै थाहा होला । तर उपन्यासको भाषा सम्पादन गर्ने, उपन्यासको भूमिका लेख्ने र केही शुभेच्छुकहरुले उपन्यास पुरा अध्ययन गर्नु भएको छ । उहाँले उपन्यास पढ्दा छाड्नै मन नलागेको र उपन्यासका पात्रहरुले भावनामा डुबाएर आँखामा आँशु टलपलाउन देखि मनलाई रोमाञ्चक बनाउने काम गरेका छन् भनेर प्रतिक्रिया दिनुभएको थियो । यो सुन्दा आम पाठकले पनि पुनरागमनलाई मन पराउनु हुनेछ भन्ने लाग्दछ ।

पुनरागमन भन्नाले कसैको पनि पुनः आगमन हो । उपन्यासको यही नाम राख्नुको कारण ?
– तपाईले भने झैं उपन्यासको मुख्य पात्र जसका कारण अबिबाहित आमा बनेकि हुन्छिन् । त्यो पात्र पाँच वर्षपछि उसको जीवनमा पुनरागमन हुन्छ । अन्तमा उनीहरुको बिबाह पनि हुन्छ । त्यसैले उपन्यासको नाम पुनरागमन राखिएको हो ।

यो उपन्यास असहाय बालबालिको शैक्षिक सहयोगार्थ निकाल्न लाग्नुभएको हो भन्ने सुनिन्छ ?
– उपन्यासलाई मैले आफै प्रकाशन गरेको छु । प्रकाशनमा लाग्ने खर्च मेरा साथीभाई र शुभेच्छुकहरुले व्यहोर्नु भएको छ । तसर्थ यसबाट बिक्री भएर संकनल हुने रकम हामीले असहाय बालबालिका, त्यसमा पनि अपांग, अशक्त बालबालिकाको शैक्षिक सहयोगाथ खर्च गर्ने भनेका छौं । योजना बनाएर संकलित रकम त्यसैमा खर्च गर्ने छौं ।

book

पुनरागमन अब कहिले आउँछ बजारमा ?
– अहिले यो प्रेसमा छ । चैत्र मसान्तसम्म छापिएर सकिन्छ । वैशाख ११ गते मेरो आफ्नो जन्म दिन भएको र त्यो दिन लोकतन्त्र दिवस पनि भएकाले मैले सोही दिन सार्बजनिक गर्नुपर्छ कि भन्ने योजना बनाएको छु ।

पुनरागमनमा नायीका नम्रता श्रेष्ठलाई अतिथि कलाकारकारुपमा प्रस्तुत गर्नुभएको छ, किन ?
– मैले माथि पनि भने, पुनरागमन उपन्यास नायीका नम्रता श्रेष्ठको बारेमा उपन्यास लेख्नेक्रममा नै मैले लेखेको हुँ । सो उपन्यास लेखाईको गहिराईमा डुबेको समयमा अनेक परिवेशहरुलाई मनमा खेलाउनेक्रममा पुनरागमनको उत्पत्ती भएकाले यसमा नायीका नम्रता श्रेष्ठको बारेमा केही प्रसँगहरु झल्कनु स्वाभाविक कुरा हो । म लामो समयको अन्तरालपछि साहित्यीक क्षेत्रमा फर्किएको छु । एक प्रकारले भन्ने हो भने मेरो पनि साहित्यीक क्षेत्रमा पुनरागमन भएको छ । यदि नायीका नम्रता श्रेष्ठको बारेमा उपन्यास निकाल्ने सोंच मनमा नजाग्थ्यो भने म साहित्यको पूर्व बिद्यार्थी सरह पत्रकारितामा मात्र रमाई रहेको हुन्थे । यस अर्थ पुनरागमनमा पनि नायीका नम्रता श्रेष्ठको बारेमा केही प्रसंगहरु समावेश छन् । नम्रतालाई एकदुई ठाउँमा पात्रकारुपमा पनि देखाइएको छ ।

नम्रतालाई देखाएर उपन्यास बढि बिक्री गराउने योजना त होइन ?
  नम्रतालई देखाएर उपन्यास बढि बिक्यो भने त राम्रै हुनेछ । धेरै अशक्त, असहाय बालबालिकाले शिक्षा ग्रहण गर्न पाउनेछन् ।

उपन्यास बिमोचन कार्यक्रम कहाँ हुँदैछ ?
– उपन्यास विमोचन कार्यक्रम काठमाडौंमा गर्ने र यसका लागि सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओली ज्यूको समय लिने प्रयास गरिरहेको छु । सायद प्रमबाट यसको लोकार्पण हुनेछ ।

नम्रता उपन्यास कहिले बजारमा आउँछ ?
 नम्रता जीले उपन्यासमा केही विषय बस्तुहरु थप्ने भन्नु भएको छ । उहाँसँग यो विषयमा भेट हुनासाथ उपन्यासलाई पूर्णता दिनेछु । त्यसपछि दशैको सेरोफेरोमा उक्त उपन्यास बजारमा ल्याउने सोंच बनाएको छु ।

तपाईलाई हामीले महिलाबादी उपन्यासकार भन्यौं भने अन्यथा होला कि नहोला ?
  त्यो त तपाईको बिचार हो । जहाँसम्म महिलाबादी उपन्यासकार भन्ने कुरा छ, यसमा मेरो समर्थन छैन । मैले यो भन्दा अगाडि नै दुईवटा उपन्यास बजारमा ल्याई सकेको छु । ती उपन्यासहरुले फरक सन्देश बोकेका छन् । त्यसैगरी एउटा कथा संग्रह पनि प्रकाशित छन् । त्यसमा विभिन्न विषयमा आधारित रहेर लेखिएका कथाहरु समावेश छन् । तसर्थ पछिल्लो समयमा नम्रता र पुनरागमन उपन्यासका मुख्य पात्रहरु महिला हुन् भन्ने आधारमा महिलाबादी उपन्यासकार कसैले भन्छ भने रोक्न सक्ने तागत मसँग छैन । दुबै उपन्यासमा अन्य विभिन्न सन्देशमुलक विषय र घटनाक्रमहरु पनि छन् । तसर्थ म कस्तो उपन्यासकार हुँ भन्नका लागि त उपन्यास पुरै अध्ययन गर्नु पर्दछ ।

अन्तमा केही भन्नुछ कि ?
 अन्तमा म बिगतमा जसरी मैले प्रकाशित गरेका उपन्यासहरुलाई मन पराई दिनुभएको थियो, त्यसरी नै अब प्रकाशित हुन लागि रहेका उपन्यासालाई पनि मन पराई दिनुहुनेछ भन्ने आशा र विश्वास व्यक्त गर्न चाहन्छु । मैले प्रकाशित गर्न लागि रहेका उपन्यासहरुको बारेमा विश्वभर जानकारी गराउने उद्देश्यले मेरो भलाकुसारीलाई महत्व दिनुभयो, त्यसको लागि तपाईहरुको युनिटलाई धन्यवाद छ ।

प्रस्तुती : निशानदाजु भट्टराई

About The Author

अन्य समाचारहरु: