१० चैत, धादिङ – लैङ्गिकतामा आधारित हिंसाको सम्बोधन कार्यक्रम अन्र्तगत तर्सपु गाविस वडा नं ५ का आमा समूहमा १ दिने अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
साउथ एसियन ओमन फन्टको सहयोगमा सहयात्री समाजद्धारा संचालित तालिममा १३ जना महिला सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाको परिचय, संस्थाले गरेको कार्यक्रम, घरेलु हिंसा सम्बन्धि बनेको कानुन र बोक्सीको आरोप सम्बन्धमा छलफल गरिएको थियो ।
कार्यक्रममा सहयात्री समाज नेपालका लैङ्गिक हिंसा विरुद्धको सम्पर्क विन्दु गोमा अर्यालले सहभागीहरुलाई जानकारी गराएका थिए । सहभागीहरुबाट बोक्सीको आरोप ,घरेलु हिंसा ,बहुविबाह जस्ता महिला माथी हुने हिंसाको घटनाहरु धेरै नै हुने गरेको बताएका थिए । साथै अहिलेसम्म त्यस्तो घटना हुँदा चुप लागेर बस्ने गरेको र अबका दिनमा सम्बन्धित निकायमा उजुरीको प्रक्रियामा जाने पनि बताएका थिए ।
यस्तैगरी सोही कार्यक्रम अन्र्तगत गोगनपानी गाविस वडा नम्बर १ मा पनि बुधबार नै सम्पन्न भएको छ । महिला समुहका ४९ जनाको सहभागीता रहेको कार्यक्रममा घरेलु हिंसा सम्बन्धी कानुन र मनोसामाजिक समस्या सम्बधमा छलफल गरिएको थियो ।
कार्यक्रमका सहभागीहरुले आफुहरुलाई आइ परेका घरेलु हिंसा तथा मनोसामाजिक समस्याका बारेमा जिज्ञासा राखेका थिए । साथै उनीहरुले भुकम्प पछि समाजमा घरेलु हिंसाका धेरै हुने गरेको बताएका थिए ।
समाजले मनोसामाजिक समस्या भन्नाले गलत रुपमा लिने गरेको र यस्ता समस्याको पहिचान गर्न गार्हो भएपनि धेरै नै समस्याहरु देखिने गरेको बताएका थिए । कार्यक्रमको सहजीकरण सहयात्री समाज नेपालका लैङ्गिक हिंसा विरुद्धको सम्पर्क विन्दु पार्वती रेग्मी र मनोसामाजिक विमर्शकर्ता रजनी थापाले गरेका थिए ।