७ चैत, धादिङ – सरकारको २ लाख कुरेर बसेका धादिङका कुमाल समुदाय यतिखेर आफै घर निर्माणमा जुटेका छन् । धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ८ रामकोटका कुमाल समुदाय भुकम्पले थिलथिलो बनेका घर पुन निर्माणमा जुटेका हुन् ।
बैशाख १२ गतेको भुकम्पले घर बस्न नहुनेगरी क्षति पुगेपछि पाल र छाप्रोमा दैनिकी चलाउदै सरकारको सहयोग कुरेर थकित बनेका कुमाल समुदाय आफै घर पुननिर्माणमा अघि बढेका हुन् ।
हिमाली पहुँच केन्द्र काठमाण्डौले गाउँमा रहेका २ सय परिवारलाई साढे २ बण्डलका दरले जस्तापाता सहयोग उपलब्ध गराएपपिछ गाउँकै काठ र ढुंङ्गामाटो प्रयोग गरेर घर निर्माण गर्न थालिएको स्थानीय रामकृष्ण कुमालले बताए । ‘बर्खा लागिसक्यो धमाधम खेतबारीमा काम गर्ने सिजन भयो अब पनि घर नबनाए कहिले बनाउने’ रामकृष्णले भने । ‘सरकारले केही सहयोग गर्ला, यस्तो घर बनाउ भन्देला भनेर अहिलेसम्म कुरेर बस्यौ अब त आशै मरिसक्यो, त्यसैले जस्तोहुन्छ आफैले घरटहरा बनाउन सुरु गरेका हौ ।’
कुमाल जातीको बाहुल्यता रहेको २ सय घर परिवारलाई केही दिन अघि ससाह इसाइ चर्चको समन्वयमा हिमाली पहँच केन्द्र काठमाण्डौले जस्तापाता वितरण गरेको थियो । भुकम्प पीडित स्थानीयहरुको माग अनुसार नै गाउँमा जस्तापाता सहयोग गरिएको हिमाली पहँच केन्द्र काठमाण्डौका फुर्पु लोेमी भोटेले बताए ।
जस्ता सहयोग पाएदेखि स्थानीयहरुले भुकम्पले थिलथिलो बनेका घरहरु भत्काउदै नयाँ घर निर्माण गर्न थालेका छन् । भत्किएको घरबाट निस्कने पुरानो काठपातको जोहो गर्दै नयाँ घर निर्माणमा जुटेका पीडितहरुलाई सरकारले दिने भनेको सहयोग रकम पाइएला की नपाइएला भन्ने चिन्ता थपिएको छ ।
केन्द्रले झार्लाङ, सेर्तुङ, तिप्लिङ लगायत उत्तरी धादिङको विभिन्न गाउँ विकास समितिमा भुकम्प पछि खाद्यान्न र जस्तापाता सहयोग उपलब्ध गराउँदै आएको ससाह इसाइ चर्चका पाष्टर सुभसिं तामाङले जानकारी दिए ।