२ चैत, रसुवा – वैशाख १२ को भूकम्पपछि विस्थापित परिवारलाई सुरक्षित बास दिलाउन रसुवाका विभिन्न ठाउँमा एकीकृत बस्ती बसाल्न प्रस्ताव गरिएको छ ।
जिल्ला दैवीप्रकोप उद्धार समितिको निर्णयबमोजिम विस्थापित परिवारलाई एकीकृत बस्ती बसाल्न लहरेपौवा गाविसको नौबिसे र बोगटीटार, सरमथलीको पारच्याङ र पाटीखर्क र भोर्लेको लामाचेत सिफारिस भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।
यस्तै, भूकम्पपीडितलाई सरकारले उपलब्ध गराउने पुनःनिर्माणको राहत वितरणको लागि जिल्लाका चार स्थानमा वितरण केन्द्र बनाउन सिफारिस भएको छ ।
प्राप्त विवरणअनुसार प्रस्तावित चार केन्द्रमा ग्रामीण भूकम्पपीडितमध्ये लहरेपौवा, डाँडागाउँ, ठूलोगाउँ र सरमथलीका लागि बेत्रावतीस्थित हिमालयन बैंक, भोर्ले, धैबुङ, यार्सा गाविसका लागि कालिकास्थानस्थित आइसिएफसी फाइनान्स लिलाई प्रस्ताव गरी पठाइएको छ ।
यस्तै, धुन्चे, हाकु, राम्चे र लाङटाङ क्षेत्रका लागि धुन्चेमा रहेका बैंक र स्याफ्रु, गोल्जुङ, चिलिमे र गत्लाङका लागि स्याफ्रुबेँसीमा रहेको मेगा बैंकमार्फत भुक्तानी दिन केन्द्रमा सिफारिस गरी पठाइएको दैवीप्रकोप उद्धार समितिका सदस्य सचिव विष्णु प्रसाद कोइरालाले बताए । रासस