रेख बहादुर गुरुङ / २९ फागुन, धादिङ – भूकम्पबाट प्रभावित भई धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १२ धन्सारपाखा शिविरमा बस्दै आएका पीडितहरुलाई कचहरी नाटक देखाइएको छ ।
भूकम्पले दिएको पीडालाई कम गर्नका लागि मनोसामाजिक सहयोग सम्बन्धी कचहरी नाटक देखाइएको हो । याताना पिडित सरोकार केन्द्र नेपाल सिभिक्टको आयोजनामा ईज्राएड र अमेरी कियर्सको आर्थिक सहयोगमा शनिबार नाटक देखाईएको हो ।
सिभिक्ट नेपालले जिल्लाको सबै गाविस र नगरपालिकामा महिलास्वास्थ्य स्वयमसेविका मार्फत समुदायमा आधारित मनोसामाजिक सहयोग सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम गरिरहेको छ । समुदायका व्यक्तिहरुलाई भुकम्प जस्तै विभिन्न तनावजन्य घटना तथा जिवनमा आइपर्ने विभिन्न समस्याको समाधानका उपाय खोज्न नाटकले सहयोय गर्ने कचहरी नाटकका निर्देशक दिपमाला परियारले जानकारी दिए ।
वैशाख १२ गतेको भुकम्पले निम्त्याएको मनोसामाजिक स्वास्थ्य समस्या र लक्षणहरु समेटिएको विषयवस्तुलाई नाटक मार्फत देखाइएको थियो । यसैगरि नाटक हेरिसके पश्चात आफ्नो पुख्र्यौली थातथलो छाडेर शिविरमा बस्दै आएका भुकम्पपीडितले नाटक वास्तविक जिवनमा मेल खाएको र समस्यासँग जुध्न सिकाएको प्रतिक्रिया दिएका थिए ।