Tue. Mar 4th, 2025

काँग्रेस महाधिवेशनको सन्देश

माधव गुरुङ-

Madhav gurung

नयाँ संविधान जारी भए लगत्तै शुरु भएको नाकाबन्दीले नेपाली समाज थिलो थिलो भैरहेको अवस्थामा जनताका नजर सरकार तिर टिठ लाग्दो किसिमले केही होला की भन्दै हेरिहँदा सरकारका गतिविधि भने लाचार जस्तै देखिन्थ्यो ।नाकाबन्दीका कारण जनताका चुल्हो निभ्ने अवस्थासम्म पुग्दा पनि सरकारको प्रभावकारीता भने शुन्य प्राय नै रहेको थियो ।एकातिर कालोबजारीका कारण जनता महंगी व्यहोर्न बाध्य थिए भने अर्कोतिर जनजीवन अत्यन्त कष्टकर बन्दै थियो ।

यस्तोमा जनताको मनोविज्ञान भारत विरोधी भएको र नेपाल माथी थोपरिएको नाकाबन्दी मधेश केन्द्रित दलहरुको आडमा लादिएको अत्याचार थियो भन्ने आम बुझाईका कारण जनताका आक्रोश सरकार प्रति लक्षित नभएकै कारण सरकारको लाचारीपन जनताले स्वीकार गरेका थिए । मधेशमा आन्दोलन थामिने कुनै संकेत नरहेको र मधेश केन्द्रित दलहरुको मागका सवालमा नयाँ संविधान पक्षधर दलहरुको धारणा पनि एकरुपता नभएको अवस्थामा नकाबन्दी कति समय लम्बने यकिन नभए पनि भारतीय पक्षलाई नाकाबन्दीको प्रभावले नकारात्मक बनाउदै लगेका कारण छापारमार शैलीमै भएपनि उसले नाकाबन्दी खुलाउन बाध्य भयो ।

मधेशले खोजेका केही जायज मागलाई आवरण दिएर नेपाली जनता माथी थोपरिएको नाकाबन्दीका भारतीय संस्थापन पक्षका सरोकार र चासोका विषय सञ्चार माध्यममा आए जस्तै थियो की वा अन्य केही थियो त्यो भविष्यले देखाउला तर पनि देखिने गरी आएको तथ्य भने नयाँ संविधानमा मधेशवादी दलहरुको असन्तुष्टि नै प्रमुख थियो ।

जारी भएको संविधान कार्यन्वयनमा प्रारम्भमै देखिएको चुनौती सामना गर्न दलहरु एक ठाउँमा उभिनु पर्ने अवस्थामा मुख्य दलहरु पनि प्रधानमन्त्रीको निर्वाचनको समयमा विभाजित भएको र नेपाली काँग्रेसलाई राजनैतिक वैधता दिन जारी भएको संविधानमा उसको भूमिका कस्तो रहन्छ भन्ने निरक्यौल उसले चुन्ने नयाँ नेतृत्वले गर्ने भएकोले यसपाली काँग्रेसको अधिवेशनले निक्कै महत्व पाएको थियो । त्यसमाथी काँग्रेसको नेतृत्व कोइराला परिवार भन्दा बाहिर जाने स्वभाविक परिवेश उत्पन्न भएकाले पनि पौडेल की देउवा को भन्ने प्रश्न रहेको अवस्थामा काँग्रेस अधिवेशनले राम्रै महत्व पाएको देखिन्छ ।

एक्कासौ शताब्दीको दलको निर्वाचन परिणाम आउनै हप्ता दिन भन्दा बढी लाग्ने लाग्ने पट्यार लाग्दो निर्वाचन प्रणाली अबलम्बन गरेको काँग्रेसले मुलुकको नेतृत्व लिदै सकारात्मक दिशा सहित ठोस गति दिन्छ भन्ने कुरामा विश्वास गर्ने आधारहरु चाही उसको प्रारम्भिक नतिजाहरुले संकेत गरेको छैन । वंशवादको राजनीतिलाई महत्व र दृढताका साथ स्वीकार गरेको काँग्रेसले सम्भवत सुशील कोइरालालाई नगुमाएको भए काँग्रेसले सुशीलको विकल्प खोज्ने आँट गर्ने नै थिएन । काँग्रेस भित्र आश लाग्दा र भरपर्दा भनिएका गगन थापाले पाएको मत र उनका प्रत्याशीहरुले पाएको मतलाई विश्लेषण गर्ने हो भने पनि काँग्रेसीजनले कोइराला परिवार भन्दा बाहिरकालाई विश्वास गर्न नसकेको देखिन्छ ।

युवामाझ लोकप्रिय भनिएका गगन थापाले काँग्रेसलाई क्याडरबेस्ड पार्टीबाट मास बेस्ड पार्टी बनाउँछु भनेर महामन्त्री पदमा उम्मेदवारी दिएका पनि काँग्रेसीजनसँगको अविश्वासका कारण नै रहेछ भन्ने कुरा उनको पराजयले पुष्टि गरेकोछ । सुशीलको नेतृत्वमा नयाँ संविधान जारी गरेको सगर्व नारामा राख्ने काँग्रेसीजनले महामन्त्रीको निर्वाचन अघि संविधानका अन्र्तवस्तुमा असहमति राख्ने शशांक कोइरालालाई नै किन विजयी बनाए बुझिनसक्नु मात्र होइन विरोधाभास पनि देखिन्छ ।नीतिमा चल्ने काँग्रेस की नेतामा चल्ने काँग्रेस जनताले बुझ्न नसक्ने भएकोछ ।

त्यसैगरी केन्द्रिय समितिको निर्वाचन परिणाम पुरै नआएपनि महाधिवेशनमा भ्रष्टाचारमा जेल सजाए पाएका खुमबहादुर खड्काको प्रभावले काँग्रेसीजनलाई छाड्न नसकेको प्रष्ट देखिन्थ्यो । त्यसैगरी संस्थापन काँग्रेस र देउवा काँग्रेसको कित्तामा विभिाजित काँग्रेस प्रतिनिधिहरुले निर्वाचनमा प्यानललाई दिएको बढवा पनि हेर्न लायक नै रहयो । त्यस बाहेक काँग्रेस भित्र संस्थापन पक्षमा आएको विभाजन देउवालाई जिताउनका लागी मात्र थियो की वा अन्य कुनै शक्ति केन्द्रबाट निर्देशित थियो भन्ने बजार हल्लाले पनि काँग्रेस महाधिवेश प्रभावित भएको देखिन्छ ।

लोकतान्त्रिक पद्दतिमा विश्वास राख्ने पार्टी भित्र भएको निर्वाचन प्रक्रियालाई स्वाभाविक मान्न सकिए पनि विचार ,मुल्यमान्यता र सिद्धान्त प्रतिकुल हुने गरी काँग्रेसीजनले पदाधिकारी देखी लिएर केन्द्रिय सदस्यहरुको छनौटमा प्रयोग गरेको विवेक कदाचित उचित ठान्न सकिन्न ।विचार,सिद्धान्त र मुल्यमान्यता भन्दा पृथक रहेर गुटबन्दीमा रमेको काँग्रेस प्रतिनिधिहरुको छनौटले के मुलुकको दिशाहिनतालाई सही मार्ग निर्देश गर्न सक्ला ? उत्साहित हुनुपर्ने अवस्था उसको प्रारम्भिक नतिजाले देखाउदैन ।

About The Author