२० फागुन, धादिङ– आयोजक बंगलादेश एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति मिरपुरमा भएको खेलमा पाकिस्तानलाई पाँच विकेटले हराएर बंगलादेशले फाइनलमा स्थान बनाएको हो ।
पाकिस्तानले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य बंगलादेशले १९ दशमलव १ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो । बंगलादेशका सौम्य सरकारले ४८, महमुदुल्लाहले नटआउट २२ तथा सब्बिर रहमानले १४ रन बनाए । पाकिस्तानका मोहम्मद आमिरले दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय २९ रन बनायो । उसका लागि सरफराज अहमदले नटआउट ५८ तथा शोएब मलिकले ४१ रन बनाएपनि हार भने टार्न सकेनन् । चार खेलमा तीनमा जित र एकमा हार व्यहोरेको बंगलादेशले अब फाइलनमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
लगातार तीन खेल जितेको भारत एक खेल अगावै फाइलनमा पुगेको छ । फाइनल खेल आउँदो आइतबार हुनेछ । त्यसअघि बिहीबार भारतले संयुक्त अरब इमिरेट्स युएईसँग खेल्नेछ ।
– एजेन्सीको सहयोगमा