१३ फागुन, धादिङ – उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहनेलाई परामर्श दिँदै आएका व्यवसायीहरुको छाता संगठन शैक्षिक परामर्श संघ अर्थात इक्यानमा यतिबेला चुनावी माहोल छाएको छ । आगामी फागुन १५ गते हुने चुनावका लागि प्रकाश पाण्डे र सरोज कुमार वस्नेतको प्यानलबिच घम्साघम्सी हुँदैछ ।
प्रकाश पाण्डे प्यानलमा को को छन् ?
इक्यानको चुनावका लागि पाण्डेको समुहले प्रचारलाई तीब्र पारेको छ । उनको समुहमा उपाध्यक्ष पदका लागि विष्णुहरी पाण्डे, शालिकराम भण्डारी र यशोदा भट्टराईलाई उम्मेदवार बनाएको छ । महासचिव पदमा कमन एजुकेसन फाउन्डेसनका सन्तोष प्याकुरेल उठेका छन् ।
त्यस्तै सचिवमा श्रीराम पौडैल र देविदास भट्टराईले उम्मेदवारी दिएका छन् । कोषाध्यक्ष र सहकोषध्यक्षमा चाम्लिङ लिम्बु र रमेश वाग्लेलाई उम्मेदवार बनाइएको छ । कार्यकारी सदस्यको उम्मेदवारको रुपमा समूहले दिपकराज भुषाल, गोविन्द अधिकारी, निरुपमा महर्जन, बालकृष्ण श्रेष्ठ, प्रदीप मण्डल, प्रकाश श्रेष्ठ र यज्ञविलास पौडेललाई उठाएको छ ।
पाण्डे समूहले इक्यानलाई आफ्नो कार्यकालमा समृद्ध र चलायमान बनाउन २१ बुँदे एजेण्डा सार्वजनिक गरेको छ जसअन्तर्गत वैदेशिक शिक्षाका लागि नयाँ गन्तव्यको पहिचान गरि व्यवसायिक गतिविधी बढाउने, विदेशी कुटनितीक नियोगहरुसँगको समन्वयमा गोष्ठी, सभा तथा प्रशिक्षण लगायतका कार्यक्रम सञ्चालन गर्ने लगायत छन् । प्रकाश पाण्डे पुतलीसडकस्थित मेट्स फाउन्डेसनका प्रबन्ध निर्देशकका साथै इक्यानका वर्तमान प्रथम उपाध्यक्ष समेत हुन् ।