१२ फागुन, धादिङ – धादिङमा रहेको सुगम ग्यासको डिपोमा आपूर्ति मन्त्री गणेशमान पुनले छड्के निरीक्षण गरेका छन् ।
खाना पकाउने ग्यासमा कालोबजारी भएको गुनासो आउन थालेपछि बुधबार बिहान मन्त्रीले छ्ड्के जाँच गरेका हुन् ।
निरीक्षणका क्रममा सुगम ग्यासले सिलिण्डरको आवश्यक मापदण्ड नै पूरा नगरी उपभोक्ता ठगी गरेको भेटिएको छ । सुगम ग्यासमा रहेकोे सिलिण्डरको तौल गर्दा खाली सिलिन्डरमा ३ सय ३० ग्राम लेदो तथा भरी सिलिण्डरमा १ सय ६० देखि २ सय ३० ग्राम सम्म लेदो भेटिएको थियो ।
लेदो हालेर सिलिण्डरको तौल बढाएर सुगम ग्यासले उपभोक्तालाई ठगी गर्ने गरेको समेत प्रमाण फेला परेको छ । अनुगमन पछि उपभोक्ता ठग्ने ग्यास डिपोका सञ्चालकहरुलाई कार्बाही गर्न निर्देशन दिएका छन् ।
गुणस्तर तथा नापतौल विभाग, उपभोक्ता मञ्च सहित मन्त्री पुनको टोलीले धादिङस्थित सुगम ग्यास र थानकोट स्थित नेपाल आयल निगममा निरीक्षण गरेका थिए ।