१२ फागुन इलाम – इलामको मावुमा निर्माण सम्पन्न भएको अप्परमाई जलविद्युत् आयोजनाले आजदेखि आन्तरिक परीक्षण सुरु गरेको छ। कूल ९.९ मेगावाट क्षमताको उक्त आयोजनाले सम्पूर्ण काम सिध्याएर परीक्षण सुरु गरेको हो। जसअन्तर्गत विद्युत्गहसम्म पानी छोडिएको छ। परीक्षणसँगै मावुदेखि गोदकसम्ममा ५५ वटा टावरमार्फत ट्रान्समिसन लाइनको कामसमेत पूरा भएको जनाइएको छ।
“पहिलो चरणमा विद्युत्गहसम्म पानी छोड्छौँ, १५ दिनसम्म आन्तरिक परीक्षण गरेपछि मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन्छ”, आयोजना निर्देशक सन्तोष प्रधानले भने। काबेली कोरिडोरको ग्रिडबाट विद्युत् सप्लाइ गर्ने, मेसिन चलाउने र परीक्षण गर्ने काम गरिन्छ। थप १५ दिन समय लाग्ने आयोजनाले जनाएको छ। परीक्षण सुरु गरेको करिब एक महिनापछि मात्र नियमित विद्युत् उत्पादन हुने निर्देशक प्रधानले बताए।
नियमित उत्पादन सुरु भएको १५ दिनसम्म आयोजनाले नेपाल विद्युत् प्राधिकरणलाई निःशुल्क रुपमा विद्युत् उपलब्ध गराउनुपर्छ। विद्युत् खरिद–बिक्री सम्झौताअनुसार १५ दिन प्राधिकरणलाई विद्युत् उपलब्ध गराएपछि मात्र आयोजनाले व्यावसायिक विद्युत् उत्पादन गर्न पाउने निर्देशक प्रधानको भनाइ छ।
आन्तरिक परीक्षण गर्दा प्रभावित क्षेत्रका सर्वसाधारणलाई खोलामा पौडी नखेल्न र माछा नमार्न आयोजनाले सूचना जारी गरेको छ। रु एक अर्ब ५० करोड लगानी भइसकेको आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्दा ऊर्जा सङ्कट केही कम हुने आयोजनाका निर्देशक प्रधान बताउँछन्।
पञ्चकन्या ग्रुपको २५ प्रतिशत र नबिल बैंक, ग्लोबल बैंक, एभरेस्ट बैंक, नेपाल बैंक र एनएमबी बैंकको ७५ प्रतिशत लगानी आयोजनाले जनाएको छ। २२ मेगावाटको सानिमा माईको क्यासकेट आयोजनाले पनि गत माघ १२ देखि सात मेगावाट विद्युत् उत्पादन गरिरहेको छ।
इलामका पुवाखोला, माईखोला, जोगमाई र सिद्धिखोलामा एक÷एक आयोजना निर्माणका क्रममा छन्। नेपाल विद्युत् प्राधिकरणको पुवाखोला जलविद्युत् आयोजना, हिमाल दोलखा हाइड्रोपावर कम्पनीले, माइखोला साना जलविद्युत् आयोजना र जोशी हाइड्रोपावर कम्पनीले विद्युत् उत्पादन गरिरहेका छन्। रासस