Sat. Mar 15th, 2025

साउदीमा बन्दी बनाइएकी नेपाली चेलीको उद्धार

saudi११ फागुन, साउदी अरब – साउदी अरबमा बन्दी जीवन बिताइरहेकी एक नेपाली चेलीको उद्धार गरी स्वदेश पठाइएको छ।

दलालको प्रलोभनमा परी दिल्लीको बाटो हुँदै घरेलु कामदारका रुपमा ५ वर्षअघि साउदी आएकी पाल्पा कचलकी ३१ वर्षीया निर्मला परियारलाई उद्धार गरी स्वदेश पठाइएको हो।

रियादबाट करिब २० किमीको दूरीमा पर्ने दखल मौजुदस्थित साउदी नागरिकको घरमा बन्दी जीवन बिताइरहेकी पीडित निर्मलालाई नेपाली जनप्रगतिशील मोर्चाले दूतावासको समन्वयमा उद्धार गरेको हो।

गत २९ जनवरीमा उद्धार गरी रियादस्थित नेपाली दूतावासको आश्रयस्थलमा राखिएकी निर्मलालाई आवश्यक प्रक्रिया पूरा गरी सोमबार साँझ स्वदेश पठाइएको मोर्चाका अध्यक्ष मीनराज नाथले जानकारी दिए। निर्मलालाई मोर्चाका मोहन सारु र मेघनाथ भट्टराईको संयुक्त प्रयासमा साउदी नागरिकको घरबाट उद्धार गरिएको हो।

गत जनवरी २९ मा घरका परिवार सुतेको मौका पारी राति ४ घन्टाको निरन्तर प्रयासपछि बिहान ४ बजे उनलाई बन्दी बनाइएको घरबाट भगाएर दूतावास पुर्‍याइएको थियो।

कुबेतमा रहेकी उनकी दिदीमार्फत उनी साउदी नागरिकको घरमा बन्दी जीवन बिताइरहेको खबर पाएपछि आफूहरुले ५ महिनादेखि निरन्तर उद्धारको प्रयास गरेको मोर्चाका उपाध्यक्ष मानबहादुर सहकारीले बताए। घरेलु कामदारका रुपमा आएकी पीडित निर्मलाको पारिश्रमिकसमेत दलालको हातमा पर्दै आएको थियो।

बन्धक बनाइएका परिवारका सदस्यबाट दिइने शारीरिक र मानसिक यातनाका कारण उनी पीडित बनेकी थिइन्। साउदी नागरिकले उनलाई शौचालयमा लगेर कुटपिट तथा शारीरिक यातना दिने गरेका कारण उनको जीवनसमेत सङ्कटमा परेको थियो।

परिवारमा मानसिक सन्तुलन गुमाएका श्रीमान्, एक छोरा र एक छोरीसमेत रहेकी निर्मलाले स्वदेश फर्कने आशा मारेकी भए पनि स्वदेश फर्कन सफल भएकी छिन्।

गैरकानुनी बाटो भएर साउदी आइपुगेकी पीडित परियारलाई यात्रा अनुमतिपत्र बनाई नेपाल फर्कने व्यवस्था मिलाइएको कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले जानकारी दिए। रासस

About The Author

अन्य समाचारहरु: