रामनाथ अधिकारी नेपाली कांग्रेसमा परिचित नाम हो । प्रत्यक्ष जनतासँग जोडिएर राजनीति गर्ने अधिकारी नेपाली कांग्रेस धादिङको चार पटकसम्म सभापतिमा निर्वा्चित भए । पूर्वसांसदसमेत रहेका अधिकारी कांग्रेस सभापतिहरुको संगठनको सभापति समेत हुन् । सादा जीवनशैली बा“च्ने नेताकारुपमा स्थापित अधिकारी नेपाली कांग्रेसको आसन्न १३ औं महाधिवेशनमा केन्द्रिय सदस्यका प्रत्यासी बन्दैछन् । प्रस्तुत छ, उनीसँग पाविलन्युज डटकम (pabilnews.com)ले गरेको कुराकानीको सम्पादित अंशः
आसन्न कांग्रेसको १३ औं महाधिवेशनमा यहाँ केन्द्रीय सदस्यको प्रत्यासी हुनुहुन्छ । यहाँको उम्मेदवारी किन ?
नेपाली कांग्रेसको १३ औं महाधिवेशनको हामी पूर्वसन्ध्यामा छौं । हाल नेपाली कांग्रेसलाई अत्यन्त ठूलो नोक्सानी भएको छ । पार्टीका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको आज ११ दिन भएको छ । कांग्रेस आफ्नो महाधिवेशनमा जुटिरहेको यो अवस्थामा श्रद्धेय सभापतिमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै यो महाधिवेशनमा मैले केन्द्रीय सदस्यमा प्रत्यासी हुने विचार गरेको छु । नेपाली कांग्रेसको विपीद्वारा प्रतिपादित विचार र आदर्श आम नेपाली जनताको घरदैलोमा पुर्याउनुपर्ने अभिभारा हाम्रो काँधमा छ । बिपीले नेपाली जनताको अधिकार नेपाली जनताकै हातबाट लेखिनुपर्छ अथवा संविधानसभाको माध्यमबाट संविधान बनाउनुपर्छ भन्ने विचार ००७ सालमा बिजारोपण गर्नुभएको थियो । आज सुशील कोइरालाकै हातबाट संविधान जारी भएको छ । उक्त संविधानलाई जनतासम्म पुर्याउने कुरा आसन्न १३औं महाधिवेशनले गर्ने कुरा ध्यानमा राख्दै मेरा श्रद्धेय सभापतिप्रति सम्मान व्यक्त गर्नको लागि मैले उम्मेदवारी दिने विचार बोकेको छु । यसमानेमा कि कांग्रेसको विचार जनताको बीचमा जुझारु ढंगले बस्ती–बस्ती र गाउँ–गाउँमा लैजान सकिएन भने यसको उपादेयता नहुन सक्छ । यसर्थ त्यही लक्ष्य उद्देश्यका लागि र कांग्रेसकै नेतृत्वमा आएको संविधानलाई जनताकै हातमा पुर्याएर मुलुकलाई समृद्धितर्फ लैजाने अभिभारालाई पूरा गर्न मैले केन्द्रीय सदस्यको उम्मेदवार बन्ने विचार गरेको हुँ ।
भनेपछि संविधान लागू गर्न र बिपीको विचार जनताकोमा लैजान जनतासँग जोडिएको नेतृत्व चाहिन्छ, त्यो हैसियत म राख्छु भन्न खोज्नुभएको हो ?
पक्कै हो । किनभने म नेपाली कांग्रेसको चार पटकसम्म सभापति भइसकेको छु । अहिले जिल्ला अधिवेशनबाट केन्द्रीय निर्देशन र पार्टीको विधानबमोजिम मैले त्यो पद छाडेँ । म जनताको राजनीति गर्नुपर्छ भन्ने मानिस हुँ र आफ्नो राजनीतिक जीवनमा त्यही अभ्यास गर्दै आइरहेको छु । जनताको लागि राजनीति गर्नुपर्छ भन्नेविचार बिपीले बिजारोपण गर्नुभएको थियो, उहाँको एउटा असल कार्यकर्ताको हैसियले मुलुकमा विद्यमान असजिलो परिस्थितिबाट यसलाई मुक्त गर्न र जनताको जीवनशैली सजिलो बनाउँदै अधिकार जनतासम्म पुर्याउनको लागि मेरो उम्मेदवारी हो । जनताको साथी जो बन्न सक्छ, विचार जसले घरदैलोसम्म पुर्याउन सक्छ, त्यही जनताको नेता हो, त्यसको लागि म योग्य छु भन्ने मेरो दावी हो ।
२ बिपीदेखि सुशीलसम्म आउँदा कांग्रेस नेतृत्व कोइराला परिवारभित्रै थियो । अहिल सुशीलको निधनपछि अब कांग्रेस नेतृत्व कोइराला परिवारबाट बाहिर जान खोजेको हो र ?
हामी यतिबेला शोकमा छौं । यो अवस्थामा पनि हाम्रो नेताहरु आपसमा छलफलमा व्यस्त हुनुहुन्छ । कोइराला परिवारबाट नेतृत्व बाहिर जानुपर्छ वा जानुहुन्न भन्दा पनि मलाई के लागेको छ भने बिपीले प्रतिपादन गर्नुभएको विचार नेपाल र विश्वकै सन्दर्भमा पनि सान्दर्भिक छ । तर त्यो विचारलाई जुन ढंगले जनताको बीचमा पुर्याउनु पथ्र्यो त्यो सकिएको छैन भन्ने आम नेता र कार्यकर्ताहरुले महसुस गरिरहेका छन् । त्यसैले अहिले हामीले पाएको जुन अधिकार छ, त्यसलाई जनताको बीचमा लैजानको लागि जरुरी आम कार्यकर्ताको बीचमा जानु जरुरी छ, जनताको बीचमा जानु जरुरी छ । तर यो महाधिवेशनमा कोइराला परिवारभन्दा बाहिरबाट नेतृत्व आउने सन्दर्भमा मलाई लाग्छ, बिपीको आदर्श जसले बोकेर हिंड्छ, त्यो नै कोइरालाहरुको उत्तराधिकारी हो अथवा कोइरालाहरुले तयार बनाएको नेतृत्व हो भन्ने बुझ्नुपर्छ भन्ने मेरो मान्यता छ ।
तर बिपीको आदर्शलाई लागू गर्ने सन्दर्भमा कांग्रेस नेतृत्व चुक्यो भन्ने कांग्रेसभित्रै गुनासो छ नि ?
यसमा म पनि केही हदसम्म सहमत छु । हामी चुकेकै छौं । समयले कोल्टो फेरेको छ । हामी २१औं शताब्दीमा आइपुगेका छौं, यो सन्दर्भमा हामी नयाँ युगको आवश्यकता अनुसार हिंड्न सकिरहेका छैनौं कि भन्ने भान सबैलाई हुन्छ । यसर्थ अहिले २१औं शताब्दीमा मुलुक एउटा ग्लोबलाइजेसनमा पुगेका छ, विश्व हत्केलामा आइपुगेको छ । यो सन्दर्भमा कांग्रेसलाई अझ बढी चलायमान बनाउनु आवश्यक छ अबको हाम्रो अभिभारा त्यही हो । जनताका छाप्रो छाप्रो झुपडी झुपडीमा पुर्याउनुपर्छ भन्ने उद्देश्य बोक्ने नेतृत्वहरुलाई यो महाधिवेशनले चयन गर्छ । म पनि यो महाधिवेशनको एक सहभागीको हिसाबले यो उद्देश्यलाई सफल बनाउन भूमिका खेल्नेछु ।
कांग्रेसलाई युग सुहाउँदो र थप चलायमान बनाउन तपाईंसँग के छन् योजनाहरु ? यो भन्दा अगाडिको नेतृत्वभन्दा म यसकारण फरक गर्न सक्छु भन्ने केही योजना होलान् नि ?
– सबभन्दा महत्वपूर्ण कुरा नेपाली कांग्रेसको विचारलाई जनताको बीचमा लैजानुपर्छ खुल्ला छाती राखेर । हामीले पिठ्यू फर्काएर होइन । कांग्रेसको विचारलाई छाती खोलेर जनताको बीचमा लैजान हामी तयार हुनुपर्छ । मुलुकको विकास र समृद्धिको लागि नेतृत्व दिन सक्ने पार्टी कांग्रेस नै हो भन्ने कुरा जनतालाई हामीले बुझाउन सकेनौं । त्यो अब हामी गर्छौं । अहिले जनता बलियो भएको परिस्थिति पनि छ । यो परिस्थिति निर्माण गर्न कसले बढी योगदान दियो ? यो उत्तर हामी जनताको बीचमा पुर्याउने दायित्व हामीले लिन्छौं । यसको लागि यो महाधिवेशनले नयाँ नेतृत्वलाई त्यो म्याण्डेड दिन सकोस् र त्यो नेतृत्वले आगामी निर्वाचनमा जनतालाई प्रभावित गर्न सकोस् भन्ने मेरो अपेक्षा र विश्वास हो ।
बिपीको आदर्शकै कुरा गर्दा, अहिले कांग्रेस जनतासँग जोडिएको नेतासँग भन्दा नवधनाढ्य र सुकिलामुकिलाको कब्जामा गयो भन्ने पनि गुनासो छ नि ?
– यहाँ त कांग्रेसलाई नवधनाढ्य र सुकिला–मुकिलाको पार्टी भनेर आरोप लगाउनेहरु पनि छन् । हाम्रो चाहना सबै नेपाली जनता सम्पन्न बनून् सुकिला होइन, राम्रो लाउन् र मिठो खान सकून् भन्ने उद्देश्य हो । राम्रो लुगा लगाउँदैमा र धनाढ्य बन्दैमा जुन ढंगले हेरिन्छ, त्यसो गरिनुहुँदैन भन्ने हाम्रो मान्यता हो । कांग्रेसले त सबैलाई यस्तो बनाउने मान्यता बोक्दछ । समृद्धि र विकास हाम्रो चाहना हो । अहिले नेपाली जनताले पाएको अधिकार प्राप्तिका लागि २००७ सालदेखि अहिलेसम्म निरन्तर लडिरहने पार्टी नेपाली कांग्रेस नै हो भन्ने बुझ्नुपर्छ । यसर्थ, कांग्रेस जनता बलियो भएको हेर्न चाहन्छ । राम्रो लुगा लगाएको र ओठमा मुस्कान भएको र समृद्ध जनता अबको कांग्रेसको सपना हो ।
कांग्रेसले महाधिवेशनको नयाँ नारा पनि तय गरेको रहेछ, अब संविधानपछि समृद्धिमा पनि कांग्रेस नेतृत्व भन्ने खालको नाराको अर्थ, अब महाधिवेशनपछि सरकार परिवर्तनको अभ्यास पनि हुन्छ भन्ने बुझ्दा हुन्छ ?
यो हुनसक्छ । यो अस्वभाविक होइन । जनताको अधिकार पूरा गर्नको लागि त्यसलाई लागू गर्न सक्ने निकायमा हुनुपर्छ । व्यवस्थापिका संसदमा हामीसँग सबैभन्दा बढी उपस्थिति छ । हामी सबैभन्दा ठूलो पार्टी हौं । महाधिवेशनपछि कांग्रेसले सरकारको नेतृत्व गरेपनि त्यो नौलो कुरा होइन । किनकी हामीले चाह्यौं भने सरकारको नेतृत्व गर्न सक्छौं । तर अहिले नेपाली कांग्रेसले सत्तालाई गौण मानेको छ ।
कांग्रेसभित्र संस्थापन र देउवा पक्ष भन्ने थियो । अझ संस्थापन र कोइराला परिवारलाई एकअर्काको पयार्यको रुपमा हेरिन्थ्यो/बुझिन्थ्यो । अब के हुन्छ ?
एक दशक अगाडि हाम्रो पार्टी फुट्यो र पछि फेरि मेलमिलाप भयो । हामीले एकताको १२औं महाधिवेशन गर्यौं । तर ठाउँ ठाउँमा संस्थापन र प्रजातान्त्रिक पक्ष भन्ने देखिन्छ । यसलाई यो महाधिवेशनले अन्त्य गर्दै अगाडि बढ्नेछ भन्ने अपेक्षा सबैले गरेका छौं । यो महाधिवेशनपछि घर फर्कंदा सिंगो पार्टीको रुपमा हेरिनेछ, र यसले जनताको अधिकार स्थापित गर्न गाउँ गाउँमा फर्क भन्ने उद्देश्य लिनेछ र त्यही विचारसहित कार्यकर्ता गाउँ फर्कनेछन् भन्नेमा म विश्वस्त छु ।
अन्त्यमा, आफ्ना मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?
हामी महाधिवेशनको पूर्वसन्ध्यामा छौं । म यो पार्टीको सामान्य सिपाहीका हैसियतले पार्टीले आव्हान गरेको कुनै पनि आन्दोलनहरुमा सक्रियतापूर्वक सहभागिता जनाएको एक कार्यकर्ताको रुपमा यो महाधिवेशनमा प्रस्तुत हुँदैछु । म विचारको पछाडि लाग्ने मानिस हुँ, प्रत्यक्ष जनतासँग जोडिएको व्यक्ति पनि हुँ । जनतालाई बलियो बनाउने काममा क्रियाशील रहनुपर्दछ । म त्यो काममा प्रतिबद्धता व्यक्त गर्दै आगामी महाधिवेशनमा केन्द्रीय सदस्य बन्ने इच्छा राखेको छु, निर्णय गरिसकेको छैन । मेरो इच्छालाई देशभरीबाट आउने नेता कार्यकर्ताले बुझिदिनुहुनेछ भन्ने विश्वास राखेको छ । नेपाली कांग्रेसको विचारलाई झुपडी झुपडीसम्म पुर्याउने प्रतिबद्धता पुनः व्यक्त गर्न चाहन्छु ।