६ फागनु टर्की – टर्कीको राजधानी अंकारामा भएको शक्तिशाली विस्फोटमा २८ जनाको ज्यान गएको छ ।
अंकाराका गभर्नरले घटनाको पुष्टी गरेका हुन्। विस्फोटमा परि अन्य ६१ जना घाइते भएका छन् । टर्कीको संसद भवन तथा सैनिक मुख्यालय नजिक विस्फोट भएको हो । सैनिकको गाडी गैरहेको स्थानमा बिस्फोट भएको हो । कार्यकारी प्रधानमन्त्री बेकिर बोजडगले आक्रमणलाई आतंकवादी गतिविधि भनेका छन् ।
विस्फोट भएको स्थानबाट आगो तथा धुवाँको मुस्लो उडेको प्रत्यक्षदर्शीले बताएका छन् । अंकाराको गभर्नर कार्यालयले कारबम विस्फोट भएको जनाएको छ । तर प्रधानमन्त्री कार्यालयले भने विस्फोटका बारेमा अनुसन्धान भइरहेको बताएको छ । विस्फोटमा परि ज्यान गुमाउनेमा सर्वसाधारण नागरिक पनि रहेको जनाइएको छ । घटना लगतै एम्बुलेन्स तथा अग्निनियन्त्रक खटिएका थिए । टर्कीमा पछिल्ला दिनमा यस किसिमका आक्रमण धेरै भएका छन् ।
केही दिन अघि मात्रै इस्थानबुलमा भएको एक आत्मघाती आक्रमणमा १० जनाको ज्यान गएको थियो । आक्रमणकारी बिद्रोही संगठन इस्लामिक स्टेट आइएससँग सम्बद्ध रहेको अधिकारीले बताएका छन् । गएको वर्षको अक्टोबरमा एक शान्ति र्यालीमा भएको आक्रमणमा ९९ जनाएको ज्यान गएको थियो ।
– एजेन्सीको सहयोगमा