१ फागुन, काठमाडौं – श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी शनिबार मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ । वसन्त ऋतुको सुरुवात हुने दिन भएकाले यसलाई वसन्त पञ्चमी पनि भनिन्छ ।
यसअवसरमा राष्ट्रपतिले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ । श्रीपञ्चमीका दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ ।
सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धिश्वरी नामले समेत सम्बोधन गरिन्छ । विशेषगरी शैक्षिक संस्थामा विद्यार्थीले महत्वका साथ यो पर्व मनाउँछन् ।
उपत्यकाका पशुपति जयवागेश्वरी, स्वयम्भूको सरस्वतीस्थान, लाजिम्पाटको नील सरस्वती, चाँगु, फर्पिङ, बल्खु, हाँडीगाउँ, लेलेको सरस्वती मन्दिरमा पूजा एवम् दर्शन गर्नेको भीड लागेको छ ।
भक्तपुरको हनुमन्ते खोलाको पूर्वपट्टि चौरमा सरस्वती बस्ने विश्वास गरिन्छ । ल्हासाबाट मूर्ति ल्याइएको यी सरस्वतीलाई नीलसरस्वती भनिन्छ । यस ठाउँमा श्रीपञ्चमीको अघिल्लो दिन सरस्वतीलाई तेल घस्न विद्यार्थीको भीड लाग्दछ । बौद्ध धर्मावलम्बीले पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रुपमा ज्ञानको प्रतीक मानेर पूजाआजा गर्छन् ।
यस दिन बिहानै भक्तिपूर्वक कलश स्थापना गरी पञ्चोपचारले गणेश, सूर्य, अग्नि, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ ।
सरस्वतीलाई नैवेद्यका रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ । सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन, शङ्ख आदि प्रिय लाग्ने भएकाले यस दिन पूजामा यी सामग्री चढाउने गरिन्छ ।