Tue. Nov 26th, 2024

एसएलसी प्रश्नपत्रको छपाइ सुरु

slc२८ माघ, भक्तपुर – आगामी चैत १८ गतेदेखि सुरु हुने यस वर्षको एसएलसी परीक्षाकोे तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रक खगेन्द्र नेपालले परीक्षालाई आवश्यक पर्ने उत्तर पुस्तिका एवम् अन्य सामग्री जिल्लामा पठाई सकिएको बताए।

उनका अनुसार यस वर्ष एसएलसी परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरिएका छन् र ती केन्द्रलाई आवश्यक पर्ने प्रश्नपत्र बाहेकका सबै सामग्री जिल्लामा पुर्‍याइएका छन् ।

कार्यालयले जनक शिक्षा सामग्री केन्द्र सानोठिमीस्थित सुरक्षित प्रेसमा एसएलसीको प्रश्नपत्रको छपाइसमेत सुरु गरेको छ । यस वर्ष परीक्षा दिने करिब ६ लाख १५ हजार विद्यार्थीका लागि आवश्यक पर्ने प्रश्नपत्र छपाइ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरामा भइरहेको छ ।

यस वर्षको प्रश्नपत्रमा पूर्णाङ्क र समय मात्रै उल्लेख हुने भएको छ । एसएलसीको नतिजा ग्रेडिङ सिस्टममा सार्वजनिक हुने भएकाले उत्तीर्णाङ्क उल्लेख नगरी प्रश्नपत्र छपाइ भएको कार्यालयले जनाएको छ । रासस

About The Author

अन्य समाचारहरु: