२७ माघ, काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको बुधबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्नुअघि दशरथ रंगशालाबाट शवयात्रा गर्ने तयारी छ ।
शवयात्रा त्रिपुरेश्वरबाट सुरु भएर पुतलीसडक–कमलपोखरी–मैतीदेवी–गौशाला हुँदै पशुपति आर्यघाट पुग्नेछ । कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि मंगलबारदेखि दशरथ रङ्गशालामा राखिएको छ । बुधबार दिउँसो २ बजेपछि रङ्गशालाबाट शवयात्रा गरी आर्यघाटमा अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ । स्वर्गीय कोइरालालाई उहाँका भतिजा अतुल कोइरालाले दागबत्ती दिने परिवारजनले बताएको छ । कोइरालाको निधनमा शोक मनाउन सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ ।
अन्तिम श्रद्धाञ्जलीका लागि विदेशी नेताहरु पनि काठमाडौं आउँदैछन् । मंगलबारदेखि देशभरीका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।
सरकारले बिहीबारसम्म कुनै पनि सार्वजनिक औपचारिक कार्यक्रम नगर्ने, बिहीबार र शुक्रबार परराष्ट्र मन्त्रालय लगायत विदेशस्थित नेपाली दूतावास र नियोगमा शोकपुस्तिका राख्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।