२० माघ, चितवन – नेपालकै पहिलो संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पानीका ५८ वटा ठूला स्रोत फेला परेको छ।
निकुञ्जले हालै गरेको अनुगमनमा ती स्रोत फेला पारिएकाले संरक्षणको प्रयास थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए।
साना पानीका स्रोत भने प्रशस्तै भए पनि पानीका ठूला स्रोतको मात्रै अहिले अध्ययन गरिएको उनले बताए।
निकुञ्जभित्र ३८ वटा र मध्यवर्ती क्षेत्रमा २० वटा पानीका स्रोत फेला परेको हो। यसमा १० हेक्टर माथिका पाँचवटा, १० सम्मका २९ वटा र बाँकी एक हेक्टर बराबरका पानीका स्रोत तथा सिमसार छन्।
निकुञ्जमा २५६ हेक्टरमा सिमसार क्षेत्र फैलिएको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिए।
‘‘पानीका स्रोत र सिमसार क्षेत्र संरक्षण हुन सके मात्रै वन र वन्यजन्तुको संरक्षण प्रभावकारी हुने भएकाले फेला पारिएका पानीका स्रोतहरुलाई संरक्षण गर्न थालिएको छ’’ उनले भने।
उहाँका अनुसार पोखरीको अस्तित्व नमेटियोस् भनेर पोखरी बढाउने, थुन्ने, आकार पराकिलो तथा गहिराइ बढाउने काम निकुञ्जमा भइरहेको छ।
रामसार सूचीमा सूचीकृत २० हजारी ताललगायत १७ हजार ताल बाटुली ताललगायत महत्वपूर्ण क्षेत्रमा संरक्षण गर्ने र पर्यटन प्रवद्र्धनका काम समेत भइरहेको कँडेलले बताए।
पानीका स्रोत र सिमसारको महत्व बढ्न थालेपछि अहिले विभिन्न क्षेत्रमा स्थानीयवासी आफँैं सिमसार संरक्षणमा जुट्न थालेका छन्।
प्राकृतिक चक्रका लागि सिमसारको महत्व अति हुने भन्दै चितवनको भरतपुरस्थित गीतानगरको उज्वलनगरका बासिन्दा अहिले सिमसार क्षेत्र संरक्षणमा जुटेका छन्। स्थानीय बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनका स्थानीयवासी सिमसार क्षेत्रको संरक्षणमा जुटेका हुन्। रासस