Thu. Feb 27th, 2025

भूकम्प र नाकाबन्दीबाट राउन्ड अन्नपूर्ण क्षेत्रको पर्यटन प्रभावित

annapurna१७ माघ, मुस्ताङ – वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्प र लामो समयदेखिको अघोषित नाकाबन्दीका कारण राउन्ड अन्नपूर्ण पदमार्ग क्षेत्रका पर्यटन व्यवसाय धराशायी भएका छन् ।

मुस्ताङ, मनाङ, म्याग्दी, कास्की र लमजुङ जिल्लामा फैलिएको राउन्ड अन्नपूर्ण पदमार्गमा पदयात्रा, प्राकृतिक सुन्दरतामा रमाउन र हिमालको अवलोकन गर्न बर्सेनि लाखौँ पर्यटक आउने गरेको तथ्याङ्क छ । तर, सन् २०१५ मा अहिलेसम्मकै सबैभन्दा कम ८० हजार मात्रै पर्यटक यस क्षेत्रमा आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले जनाएको छ । यो सन् २०१४ भन्दा ५० हजारले कम हो ।

पाँच जिल्लाका ५७ गाविस समेटिएको पदमार्ग क्षेत्रमा ६०० को हाराहारीमा साना तथा ठूला होटल व्यवसाय सञ्चालन छन् । न्यून लगानीका पर्यटन व्यवसाय भने अहिले बन्द हुने अवस्थामा पुगेको बताइएको छ । सडक सञ्जाल विस्तारका कारण १८ दिन लाग्ने पदयात्रा अहिले सातदेखि १० दिनमा झरेको छ ।

एक्याप आयोजनाका प्रमुख लालप्रसाद गुरुङले प्राकृतिक विपत्ति र देशको अस्थिर राजनीतिका कारण अहिलेसम्मकै ठूलो घाटा व्यर्होनुपरेको जानकारी दिए । ‘एक वर्षमा ५० हजार पर्यटक घट्नु भनेको सामान्य कुरा होइन्, यसले कम्तीमा रु एक अर्ब ५० करोड घाटा भएको पाइएको छ,’ उनले भने । यस क्षेत्रमा पदयात्रामा आउने पर्यटक कम्तीमा पनि सात दिन बिताउने र प्रतिदिन रु तीन हजार खर्च गर्ने गरेको एक्यापले जनाएको छ ।

प्रमुख गुरुङका अनुसार, भूकम्प गएको दुई महिनापछि आफ्नो लयमा फर्किएको पर्यटन उद्योग त्यसपछिको तराई आन्दोलन र नाकाबन्दीले बढी प्रभावित बनेको छ । मनाङ र मुस्ताङको पर्यटन उद्योग अहिले आन्तरिक पर्यटकको भरमा मात्रै चलेको स्थानीय पर्यटन व्यवसायीले जानकारी दिएका छन् । रासस

About The Author

अन्य समाचारहरु: