१३ माघ, धादिङ – भूकम्प प्रभावित धादिङका स्थानीयहरुलाई चर्पी निर्माण सम्बन्धि तालिम प्रदान गरिएको छ ।
एक्सन नेपालको आयोजना र इन्टरनेशनल मेडिकल कप्र्स (आई.एम.सी.)को सहयोगमा धादिङको नीलकण्ठ नगरपालिका वडा नं.८ रामकोटमा प्रदान गरिएको हो । स्थानीय स्तरमै दक्ष जनशक्तिको निर्माण गर्ने उद्देश्यले दिइएको तालिमबाट तयार भएका मिस्त्रिहरुले गाउँमै ३०० वटा सफा चर्पीको निर्माण गर्नेछन् । भूकम्प पश्चात धादिङका अत्यन्त प्रभावित ५ वटा गाविसहरुमा १४ वटा मिस्त्रि तालिम आयोजना गरिने एक्सन नेपालका कार्यकारी निर्देशक गणेश ढुङ्गानाले जानकारी दिए ।
नीलकण्ठ नगरपालिका वडा नं. ८, ९ र १० को १५ जना मिस्त्रिहरु सहभागि भएको तालिममा प्राविधिक जानकारीहरु प्रदान शेसन र तिनै जानकारीहरुलाई प्रयोगात्मक रुपमा सिकाई गरिने शेसन गरि दुई वटा शेसनमा तालिम सम्पन्न गरिएको प्रशिक्षक सागर कार्कीले बताए । तालिममा कार्यक्रम संयोजक उदीप श्रेष्ठले हाल भुकम्प पश्चात् एक्सन नेपालले गरिरहेको पुनः निर्माणको काममा मिस्त्रिहरुको भूमिका अत्यन्त महत्वपूर्ण रहेको कुरा जानकारी गराए । साथै आई.एम.सी.का कार्यक्रम अधिकृत रश्मी पौडेलले कार्यक्रममा धादिङका ५ वटा गाविसहरुमा १५सय वटा चर्पी, ८ वटा स्नान गृह, विद्यालयमा चर्पी र हातधुने सुविधाको निर्माण गरिने साथै बिग्रीएको पिउने पानीका आयोजनाहरुको मर्मत सुधारको पनि काम गरिने जानकारी दिए ।