१३ माघ, धादिङ – धादिङ जिल्लामा हाब्रे (रेडपाण्डा) भएको पुष्टि भएको छ । उत्तरी धादिङको तिप्लिङ गाँउ विकास समितिको लिङ्गजो गाँउ नजिकको म्यान्चेत चिप्रा र नाचेत खर्क नजिकको जंगलमा ३३०० मि उचाई आसपासका क्षेत्रमा पहिलोपटक संकटापन्न अवस्थामा रहेको हाब्रेको उपस्थिति रहेको एक अनुसन्धानले पुष्टि गरेको छ ।
गत असोज महिनामा रेडपाण्डाको दिशा जंगलमा भेटिएपछि अमेरीकी सहयोग नियोग यु. एस. ए. आई. डी (USAID) को सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्र्तगत हिमाली संरक्षण मञ्च र रेड पाण्डा नेटवर्कले संयुक्त रुपमा अध्यायन गरेका थिए ।
रेड पाण्डा नेटवर्कका अनुशन्धानकर्ता मनोज भट्टले हिमाली गा.वि.स.हरुमा एक महिना लामो अध्ययन गरेका थिए । लजालु स्वभावको वन्यजन्तु मानिने हाब्रेको दिसा भेटिएको आधारमा यसको उपस्थिति रहेको अनुसन्धानकर्ता सुदिप भण्डारीले पाविलन्युज डटकम (pabilnews.com) लाई जानकारी दिए । पछिल्लो पटक धादिङमा हाब्रेको उपस्थिति पुष्टि भएपछि नेपालमा ( रेडपाण्डा) पाइने जिल्ला २५ पुगेको छ ।
हाब्रेको बसोबास भएको पुष्टि भएपछि गत हप्ता ,सेर्तुङ र तिप्लिङ गा.वि.स. का विभिन्न स्थानमा समुदाय र विद्यलाय स्तरमा संरक्षणको लागि जनचेतनामुलक कार्यक्रम गरिएको थियो । कार्यक्रममाहाब्रेको महत्व अहिलेको अवस्था , संरक्षण गर्नुपर्ने आवश्यकता ,चोरी निकाशी गरेमा हुने कानुनी कारबाहीको विषयमा जानकारी गराइएको थियो । हाब्रे भेटिएपछि स्थानीयले सामुदायिक वन गठन गरी वन तथा रेडपाण्डा लगायत अन्य वन्यजन्तु संरक्षण गर्न चासो देखाएका छन् । आफ्नो जङगलमा हाब्रेको उपस्थितिबाट गाउँलाई चिनाउन पाउदा तिप्लिङ लिङ्गजोका स्थानिय खुशी भएका छन् ।