१० माघ, काठमाडौं – प्रधानमन्त्री केपी ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले २४ असोज र १६ पुसमा टेलिफोनमार्फत् भारत भ्रमणको निम्ता दिएका थिए । तर, ओली भ्रमणको मिति अझै तय भएको छैन छ ।
ओलीले फागुन पहिलो साता भारत भ्रमणमा जाने गरी एजेन्डा तयार गर्न मन्त्री र कर्मचारीलाई निर्देशन दिएको दुई साता बितिसकेको छ ।
२८ पुसमा प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा मन्त्री एवं सचिवहरुलाई बालुवाटार बोलाएर भारतसँग छलफलको एजेन्डा तयार गर्न निर्देशन दिएका थिए । परराष्ट्र मन्त्रालयले सरोकारवाला अर्थ, उद्योग, उर्जा, वाणिज्य, आपूर्ति, भौतिक पूर्वाधार तथा निर्माण, पर्यटन तथा नागरिक उड्डयन, रक्षा मन्त्रालयसँग समन्वय गरेर नेपाल-भारतबीचको पछिल्लो सम्झौताको समीक्षा गरिरहेको छ ।
‘प्रधानमन्त्री एजेण्डा तयारीका लागि सम्बद्ध मन्त्री र सचिवहरुलाई बोलाएर निर्देशन दिनुभएको छ, सरकारले तयारी गरिरहेको छ, भ्रमणको मिति तय हुन बाँकी छ,’ प्रधानमन्त्रीका विदेश मामिलाविज्ञ गोपाल खनालले नयाँपत्रिकासँग भने, ‘संविधान संशोधन भएर नेपालमा आपूर्ति व्यवस्था सुचार भएपछि भारतसँग आपसी छलफल गरेर भ्रमणको मिति टुंगो लगाउने तयारी भइरहेको छ ।’नयाँपत्रिका दैनिक