Tue. Nov 26th, 2024

अस्थायी सिकाई केन्द्रले फेरिएको दैनिकी

???????????????????????????????सरिता श्रेष्ठ, धादिङ –कुनैबेला वस्तुभाउ चराउन समेत नपुगेको घनाघोर जंगलमा वस्ती बसाउनु पर्ला, त्यही विद्यालय चलाउनु पर्ला, भन्ने कस्लाई के थाहा ? तर गत बैशाख १२ गतेको विनासकारी भुकम्पले उत्तरी धादिङको रि गाउ विकास समिति वडा नम्बर ९ किचेत, किमिचेत, करम, चेप्राङ लगायत आसपासका स्थानीय अहिले त्यही जंगलमा पुगेका छन् । भुकम्पले सबै घर ध्वस्त बनाएपछि त्यहाँका करिब २०४ घर परिवारले गाउँ भन्दा माथी लंगुरचेतको जंगल फाँडेर वस्ती बसालेका छन् । 

वस्ती बसालेको जंगलबाट पुरानो गाउँ फर्कन करिब २ घण्टा हिँड्नुपर्छ । गाउँमा रहेको देउराली प्राथमिक विद्यालयको भवन पनि भुकम्पले काम नलाग्ने गरी भत्कियो । जंगलमा बसेकाहरुलाई विभिन्न व्यक्ति, संघसस्था तथा राज्यको तर्फबाट राहत पुगेपनि बालबालिकाको लागि कुनै पहल भएको थिएन । विद्यालय भत्किएपछि त्यहा रहेका महत्वपूर्ण कागजात देखि बालबालिकाले प्रयोग गर्ने गरेको सबै शैक्षिक सामाग्री नष्ट भयो । कुनै पुरियो, कुनै भाँचियो । बालबालिकाको न त घरमा पढ्ने वातावरण थियो न विद्यालयमा । बालबालिका अन्यौलमा थिए । त्रास नै त्रासको बीच अभिभावकहरुसंग जंगल चाहारेर दिन विताउनुको विकल्प थिएन ।

युनिसेफ र विश्व शिक्षाको सहयोगमा प्रयास नेपालले संचालन गरेको आपतकालिन शिक्षा परियोजना अन्तर्गत वस्ती बसालेकै जंगलमा अस्थाई सिकाई केन्द्र (टि.एल.सी) निर्माण गरी संचालनमा ल्याएपछि अहिले त्यस वस्तीका बालबालिकाको दैनिकी पनि फेरिएको छ । लंगुरचेत जंगलमा बनेको टि.एल.सी. मा देउराली प्रा.वि. र फेदीखोला प्रा.वि. दुई ओटा विद्यालयमा अध्ययनरत १ सय ३ जना बालबालिका रमाइलो गरेर पढिरहेका छन् । दुई ओटा विद्यालयको बालबालिकाहरुलाई एउटै टि.एल.सी.मा राखेर पढाउदा पनि बालबाललिकामा खुसी छाएको देउराली प्रा.वि.का शिक्षक राजु तामाङले बताए ।

स्थानीय जंगलमा पाइने काठ, युनिसेफले उपलब्ध गराएको त्रिपाल र बाँसको प्रयोग गरेर विश्व शिक्षाको साझेदारीमा प्रयास नेपालले अस्थाई सिकाई केन्द्र निर्माण सम्पन्न गरेको हो । केन्द्र निर्माण पछि युनिसेफले उपलब्ध गराएको ठूला र साना विद्यार्थीहरुका लागि छुट्टा छुट्टै शैक्षिक सामाग्रीहरुले त्यहाँको बातावरण अझ सहज बनेको छ । केन्द्रमा बालबालिका किट्स, मनोरञ्जन किट्स, स्कुल किट्स, विपद पश्चातका लागि शिक्षण सहयोगी सामाग्री पुस्तक पाएपछि शिक्षक, अभिभावक र विद्यार्थी सबैजनामा खुसीयाली छाएको छ । फेदीखोला प्राविको कक्षा ३ मा अध्ययनरत गणेश तामाङलाई पनि कहिल्यै नदेखेको सामाग्री जंगलमा बनेको टिएलसीमा खेलाउन पाउँदा निकै खुसी लागेको छ । गणेश बताउँछन्–‘स्कुल भत्किएपछि पढ्न जाने ठाउँ थिएन, तर तीन महिनादेखि यहिँ छौं, धादिङबेसी, काठमाण्डौ तिर गएका साथीहरु पनि आउने भनेको छ ।’ सरहरुले खेल्ने कुराहरु पनि धेरै ल्याउनु भएको छ । दिनभरी नै त्यही खेल्नी त्यही पढ्नी गरेका छौं’ गणेशले भने ।
सामाग्रीको सदुपयोग गर्दै सबैजना बालबालिका र शिक्षक एक आपसमा खेल्दै रमाइलो ढंगले आफ्नो सिकाईलाई मजबुद बनाउदै लगेका छन् । विश्व शिक्षाको सहयोगमा प्रयास नेपालले विद्यालयमा खानेपानी र अस्थाई शौचालय पनि निर्माण गरिदिएको छ । देउराली प्रा.वि.का राजु तामाङ भन्नुहुन्छ, ‘यस्तो विपतको बेला गाउँमा आएर पढाउने वातावरण बनाइदिनुभयो हामी खुसी छौं, एउटैमा टि.एल.सी.मा दुई ओटा विद्यालय चलाउनु परेको छ ।’ अब एउटा बनाउन पाए हुन्थ्यो भन्छन् शिक्षक राजु तामाङ ।
हामीले जस्तो दुःख पाएपनि छोराछोरी पढ्न पठाउन पाउँदा खुसी लागेको स्थानीय बुद्धिजिवि प्रेम तामाङले बताए । उनी भन्छन् ‘हाम्रा बालबालिकाहरु पनि अस्थाई सिकाइ केन्द्रमा रमाइलोसंग पढिरहेका छन् ।’
यसरी प्रयास नेपाल र विश्व शिक्षाको साझेदारीमा त्यस लंगुचेत जंगलको वस्तीमा जति काम गर्न सफल भइएको छ त्यो नै पूर्ण होइन । आपतकालिन अवस्थामा यति काम भएपनि तत्काल अझ अरु धेरै कामहरु गर्नुपर्न बाँकी छ । तैपनि अहिलेको लागि हाम्रो घाउमा मलहम लगाएजस्तै भएको छ भन्नुहुन्छ स्थानीय तेन्जिङ तामाङ । रि गाविसभरका ७८ जनाको मृत्यु भयो । कयौं घाइते छन् । कति घर परिवार विस्थापित बनेका छन् । गाविसको वडा नम्बर ९, ७ र ५ बढि प्रभावित बनेको छ । विद्यालयको नक्साङ्कन समेत विग्रिएको छ ।

About The Author

अन्य समाचारहरु: