चितवन – चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–८ लक्ष्मीनारायण चोकमा नम्बर नखुलेको सवारीसाधनले गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।
गाडीको ठक्करबाट नगरपालिका–५ चौकीडाँडाका ३५ वर्षीय ज्ञानबहादुर लामाको मृत्यु भएको प्रहरी निरीक्षक महेन्द्रबहादुर थापाले जानकारी दिए । लामा काठमाडौँबाट आएर गाडीबाट ओर्लेर बाटो पार गर्ने क्रममा गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका थिए ।
घाइते लामालाई उपचारको लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थापाले बताए । ठक्कर दिने सवारीको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।