Thu. Feb 27th, 2025

तरकारी खेतीमा सरकारी किसान

१ पुष गोरखा – पूर्वी पहाडी जिल्ला सोलुखुम्बुका एकबहादुर राईले गोरखामा तरकारी खेती गर्छु भन्दा धेरैले पत्याएनन् । छरछिमेक र साथीभाई त परको कुरा श्रीमतीले समेत तरकारी खेती भन्दा अरु नै केही गर्न सुझाइन् । तर गोरखा बजारकै एक स्थानीयसँग ५ रोपनी जग्गा भाडामा लिने मौखिक सहमति गरिसकेका राई पछि हटेनन् ।
टनेल बनाउन बाँसको खोजीमा सदरमुकाम वरपरको गाउँतिर डुल्न थाले । ‘बाँसको बैना गरेर फर्किएको रात श्रीमतीसँग सामान्य भनाभननै भयो’ लजालु मुस्कानसहित उहाँ भन्नुहुन्छ, ‘म पछि नहट्ने देखेपछि परिवारका सबैजना मेरो पछि लागे ।’

सोलुखुम्बुको विकट नेचा बतासे गाउँमा जन्मिएका ४३ वर्षका राई तरकारी खेती गर्नकै लागि भनेर गोरखा आइपुगेका भने होइनन् । जागिरे जीवनले यी पूर्वेली राईलाई पश्चिम अर्घाखाँची हुँदै गोरखासम्म ल्याइपुर्‍याएको हो । उहाँ जिल्ला प्राविधिक कार्यालयका खानेपानी तथा सरसफाई प्राविधिक हुनुहुन्छ ।
२०६२ सालमा आर्घाखाँचीबाट सरुवा भएर गोरखा आइपुग्दासम्म राई पारीवारिक बोझले थाक्नुसम्म थाकिसक्नु भएको थियो । श्रीमती, दुई छोरा र एक छोरी लिएर गोरखा उत्रिएको केही समय त जसोतसो धान्नुभयो, तर छोराछोरीको पढाई र घरखर्च धान्न उहाँको जागीरले पुगेन । ‘कहिलेकाँही त जागिर छोडेर गाउँ फर्किऊँ जस्तो पनि लाग्थ्यो’ राई भन्नुहुन्छ, ‘तर अस्थायी नै भएपनि १६ वर्ष खाईसकेको जागीरको पनि माया लाग्यो ।’

उता जागीरको माया, यता घरपरिवारको माया, बिचमा पर्खाल बनेर उभियो पैसा । घरखर्चका लागि अतिरिक्त पैसाको जोहो गर्ने उपाय खोज्दै जाँदा उहाँको मन तरकारी खेतीमा गएर अडियो । सोलुखुम्बुमै हुँदा बेमौसमी तरकारी खेती गरेर जिल्लाभर कहलिनु भएका उहाँलाई यहीनै अन्तिम विकल्प लाग्यो । ‘सोलुखुम्बुमा नमुना कृषकका रुपमा धेरैपटक जिल्लास्तरको पुरस्कार थापेको छु’ तरकारीबारीमा काउलीका सुकेका पात निमोठ्दै उहाँ थप्नुहुन्छ, ‘बरु यता आएर खेती थाल्न पो ढिलो गरेछु कि जस्तो लाग्दैछ ।’
ढेड वर्षअघि ५ रोपनी जग्गा भाडामा लिएर उहाँले सुरुमा बेमौसमी तरकारी खेतीका लागि टनेल बनाउनै ५० हजार खर्चनुभयो । मलबीउ र बारी खनजोतमा अरु ३० हजार रुपैयाँ जति सकियो । टनेलमा सिर्जना जातको गोलभेडा र फर्सी, प्याज लगायतका तरकारी लगाउनुभयो ।

पहिलो लटको कमाई कति भयो नि ? प्रश्न सुन्नासाथ मुसुक्क हाँस्दै पूर्वेली लवजमा राई भन्न थाल्नु भयो, ‘एकदिनमा बढीमा ५० रुपैयाँसम्मको तरकारी पनि बेचियो ।’ तर गोरखाको तरकारी उत्पादन र खपतबारे राम्रोसँग बुझ्नुभएका उहाँ थप लगानी गर्न डराउनुभएन ।

उहाँको वर्षैपिच्छे कमाई बढ्दै गइरहेको छ, जेठो छोरा १२ र कान्छो ११ मा पढ्छन्, छोरीलाई निजी विद्यालयमा पढाउनुभएको छ । उनीहरु सबैको पढाई खर्च, घरखर्च र भैपरी आउने अरु खर्च कटाएर महिनाको औसत ३० हजार रुपैयाँ बचत हुन थालेको छ । जागीरसँगै व्यावसायिक तरकारी उत्पादनमा सक्रीय राईलाई जिल्ला कृषि विकास कार्यालयले विश्व खाद्य दिवसको अवसर पारेर उत्कृष्ट तरकारी उत्पादकका रुपमा पुरस्कृत गरेको छ ।

‘राईजीको बेमौसमी तरकारी खेती जिल्लाकै लागि अनुकरणीय छ’ वरिष्ठ कृषि विकास अधिकृत तीर्थकुमार श्रेष्ठ भन्नुहुन्छ, ‘हामीले त उहाँलाई सरकारी किसान भन्ने गरेका छौं ।’ सरकारी जागीरसँगै तरकारी खेतीमा लागेका राई अरु जग्गा भाडामा लिएर खेती विस्तारको योजनामा हुनुहुन्छ । उज्यालो अनलाईन

About The Author

अन्य समाचारहरु: