धादिङ – गत वैशाख १२ गतेको विनाशकारी भुकम्पका कारण कृषि क्षेत्रमा ठुलो नोक्सानी बेहोरेका धादिङका किसानहरु फेरी भारतिय पक्षले गरेको अघोषित नाकाबन्दीको मारमा परेका छन । विशेष गरि ब्यवसायिक कृषि उत्पादनका लागेका किसानहरु नाकाबन्दीका कारण सवैभन्दा बढी मारमा परेका छन् ।
पेट्रोलिय पदार्थको सहज आपूर्ति नहुँदा व्यवसायिक रुपमा गाइ–पालन गरिरहेका किसानहरुलाइ दुध बजारमा पठाउन कठिन भएको छ भने दाना खुवाउनुपर्ने ब्यवसाय कुखुरा, वङगुर लगायतको ब्यवसायिक पालन गर्ने किसानहरु दाना खुवाउन नपाएर चिन्तित भएका छन् ।
पेट्रोलियम पदार्थको अभावका कारण गाई पालक किसानहरुले उत्पादित दुध बजारसम्म लैजान नपाउँदा दैनिक घाटा बेहोरिरहेका छन । गाइका लागि चाहिने घास पराल लगायत दाना र औषधी ढुवानीमा समेत समस्या भएको नलाङका कृषि बद्री अर्यालले बताए । उनले भने, ‘टाढा–टाढाबाट पराल र घाँसहरु ल्याउनु पर्ने हुन्छ, तर ढुवानीका साधनहरु नपाएपछि गाइवस्तुलाइ भोकै राख्नुपरेको छ ।’ उत्पादित दुध पनि बजारसम्म लैजानको लागि निकै नै दुःख गर्नुपरेको अर्यालको गुनासो थियो । यतिका लामो समयसम्म नाका बन्दि हुदा समेत सरकारले ब्यवसायिक कृषकहरुलाइ क्षति नहुनेगरि ब्यवस्था मिलाउन नसकेको प्रति किसानहरुले आक्रोश समेत ब्यक्त गरेका छन् । ‘उत्पादित दुध बजारसम्म लैजानको लागि पनि दिनहुँ इन्धन नै आवश्यक पर्छ, तर प्रहरी प्रशासन कसैले पनि हाम्रो समस्यालाइ वास्ता गर्देनन ।’ अर्यालले भने, ‘दिनहुँ उत्पादित दुध स्टोर गरेर राख्ने हामीसंग प्रविधि पनि छैन, खेर फाल्नुको अर्को विकल्प नभएपछि हामीले गरेको लगानी डुब्ने भयो ।’
दुग्ध उत्पादक किसानहरुका लागि चाहिने आवश्यक दाना र औषधीहरुको मुल्य पनि पहिले भन्दा झण्डै दोब्बरले बृद्धि भएको छ । अहिले बजारमा गाई भैसीका लागी आवश्यक पर्ने दाना र औषधीहरुको समेत अभाव हुन थालेको किसानहरुले बताएका छन । ‘बजारमा औषधि पनि पाइदैन, जसोतसो पाइहाले पनि पहिले भन्दा दुइगुणासम्म महङगो तिर्नुपरेको छ ।’ नलाङकै अर्का कृषक जीवन सिलवालले बताए ।
बङगुरपालन गरिरहेका किसानहरुलाइ पनि दानाको चर्को समस्या परेको छ । दैनिक रुपमा आवश्यक मात्रामा दाना खुवाउन नपाउदा उत्पादन घट्ने चिन्ताले किसानहरुलाइ सताउन थालेको छ । बेनिघाटका किसान ध्रुव विश्वकर्माले भने, ‘मेरो फारममा रहेका बंङगुरहरुलाइ दैनिक १०० किलो दाना आवश्यक पर्छ, तर नाकाबन्दीको कारण दाना नै ल्याउन पाइएको छैन । पर्याप्त मात्रामा दाना खुवाउन नपाएपछि भोको बङगुरबाट कति उत्पादन हुन्छ र ?’ महङगो मुल्य तिरेर थोरै दाना ल्याएकाले एक छाक पनि थोरै दाना दिने अनि दिउसोको समयमा बङगुर चराउने गरेको विश्वकर्माले बताए ।
‘दाना आँफै किनेर ल्याउछु भनेर गाडी पनि खोजे तर तेल नपाएर दाना ल्याउन त परै जाओस आफ्नै घरमा भएको मकै कोदो पनि ल्याउन सकिएको छैन ।’ विश्वकर्माले भने, ‘करोडौ लगानी गरेर बङगुर, माछा पालिएको छ पैसा तिरेर किन्ने दाना खुवाउन नपाएर यसपाली घाटा खाइने भइयो ।’ गत वैशाख १२ गतेको विनाशकारी भुकम्पले थिलो–थिलो बनाएको ब्यवसायिक कृषकहरुलाइ नाकाबन्दीले झनै समस्या थपिदिँदा पनि सरोकारवालाहरुले किसानहरुको गुनासो नसुनिदिएको विश्वकर्माले बताए । ऋण गरेर कृषि क्षेत्रमा गरेको लगानीले ब्याज समेत ओत्न नसक्ने अवस्था आएको भन्दै ब्यवसायिक किसानहरुको लागि इन्धन ब्यवस्था गर्न समेत माग गरेका छन । धादिङका ठुला–ठुला पशुपालक फारमहरु मात्र नभई एक/दुई ओटा गाईभैसी पालेर बजारमा दुध बिक्री गरी दैनीक घर खर्च जुटाउने किसानहरुलाई समेत नाका बन्दिले ठुलो असर गरेको छ ।