
२५ मंङ्सिर, काठमाडौँ – देशभरका तुइनलाई विस्थापित गरी दुई वर्षभित्र झोलुङ्गे पुल निर्माण गर्ने सरकारको नीतिअन्तर्गत चालु आवमा १० वटा पुल निर्माण गरिने भएको छ ।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले बाँकी तुइनको पनि सम्भाव्यता अध्ययन गरी दुई वर्षभित्रमा पुल निर्माण गर्न लागेको हो । अहिलेसम्मको अध्ययनमा २२७ तुइनको पहिचान गरिएको विभागका पुल महाशाखा प्रमुख अमृत श्रेष्ठले जानकारी दिनुभयो ।
“पाँच वर्षअघि ३६६ तुइन भएकामा १३९ मा पुल निर्माण गरिएको छ, बाँकी रहेका २२७ मा १० वटा तुइनमा सस्पेन्सन वृज डिभिजनले पुल निर्माण कार्यअघि बढाएको छ, बाँकी तुइनमा पनि दुई वर्षभित्रमा पुल निर्माण कार्य सक्छौँ”– उहाँले भन्नुभयो ।
डिभिजनले नेपाल भारत सीमा दार्चुलाको जलजिपीमा महाकाली नदीमाथि, ललितपुर – मकवानपुर जिल्लाको सीमा जोड्ने सुवानेबेँसीस्थित वाग्मती नदीमाथि, धादिङको बेल्खुभुटियास्थित त्रिशूली नदीमाथि, चितवन–गोरखाको सीमास्थित ड्रिक्लुङघाटको त्रिशूली नदीमाथि, मकवानपुरको सँुगुरेस्थित कुलेखानीनदीमाथि, तनहुँ र नवलपरासी जिल्ला सीमा जोड्ने भिरकोटस्थित कालीगण्डकी नदीमाथि, सुर्खेतको छोटेचिप्लेस्थित भेरीनदीमाथि, रुकुमको गिठाकोटस्थित सानो भेरी नदीमाथि, कालिकोटको खुलालुघाटस्थित कर्णाली नदीमाथि र धादिङको बिहानी पेट्रोल पम्पस्थित त्रिशूली नदीमाथि गरी १० स्थानमा तुइन निर्माण गर्न लागिएको विभागले जनाएको छ ।
यी १० स्थानमध्ये धादिङको बिहानी पट्रोल पम्प र कालिकोटको खुलालुघाटमा जिविसले तुइन विस्थापित गरी पुल निर्माण गर्न लागेको बृजको डिभिजन प्रमुख कुमार थापाले जानकारी दिनुभयो ।
“यसबाहेक आठ वटा तुइनलाई विस्थापित गरी पुल निर्माणको काम डिभिजनले अगाडि बढाएको छ, यसका लागि रु १० करोड ६० लाखको लागत लाग्नेछ, डिभिजनबाट बाँकी २२७ तुइनको पनि पुल निर्माणका लागि पूर्व सम्भाव्यता अध्ययन गरी सम्भाव्यता अध्ययनका लागि स्वीस सरकारको ट्रेल ब्रिज सपोर्टसँग प्राविधिक सहयोग लिन लागिएको छ”–उहाँले भन्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहणपछि पहिलो मन्त्रिपरिषद् बैठकबाट देशभरका तुइनलाई विस्थापित गरी दुई वर्षभित्र झोलुङ्गे पुल निर्माण गर्ने निर्णय गर्नुभएको थियो ।
मन्त्रिपरिषद्को नीतिगत निर्णयपछि विभागले तुइनलाई विस्थापित गरी पुल निर्माण गर्ने कार्यलाई अगाडि बढाएको हो ।