२५ मंसिर ,काठमाण्डौं-यस वर्षदेखि एसएलसीमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) लागू हुने भएको छ । यो प्रणालीमा विद्यार्थीको प्रमाणपत्र तथा लब्धांक पत्रमा उत्तीर्ण वा अनुत्तिर्ण लेखिँदैन । त्यसको सट्ठा ग्रेड तोकिन्छ । अक्षरांकन भन्नाले तोकिएको सक्षमताको मूल्यांकनपछि विद्यार्थीले हासिल गर्ने सिकाइ स्तरलाई अक्षरमा गरिने प्रस्तुतिलाई बुझाउँछ ।
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बिहीबार बसेको बैठकले पारित गरेको विद्यालय शिक्षामा अक्षरांकन पद्धति कार्यान्यवनमा कार्यविधि अनुसार सीभन्दा कम ग्रेड ल्याउनेलाई कमजोर मानेको छ । यस्ता विद्यार्थीको प्रमाणपत्रमा फेल भन्ने उल्लेख नभए पनि माथिल्लो तहमा अध्ययन गर्ने अवसर नपाउन पनि सक्छन् । एप्लसदेखि सी ग्रेड ल्याउनेसम्म सिकाइ क्षमता राम्रो मानिन्छ ।