२३ मंसिर, धादिङ – अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । प्रत्येक वर्षको डिसेम्बर ९ तारिफका दिन मनाइने दिवसको यस वर्षको नारा भ्रष्टाचारको सञ्जाल तोडौैं भन्ने तय गरिएको छ ।
संयुक्त राष्ट्र संघले सन् २००३ को डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माहोल बनाउन भ्रष्टाचार विरुद्धको महासन्धिलाई सदस्य राष्ट्रबाट अनुमोदन गराउन आग्रह गर्दै दिवस मनाउने घोषणा गरेको हो ।
भ्रष्टाचार एक वा एक भन्दा बढी व्यक्ति वा संस्थाका गतिविधिसँग जोडिएको विषय भएकाले यसलाई तोड्न प्रभावकारी रुपमा जनचेतना बढाउनुपर्नेमा जोड दिइएको छ ।
भ्रष्टाचार रोक्न राष्ट्रिय सतर्कता केन्द्रले १४ वर्षदेखि काम गर्दै आएपनि नेपालमा सोचे अनुसार प्रतिफल निस्कन सकेको छैन । भ्रष्टाचार विरुद्ध सबै एक जुट भए भ्रष्टाचारको सञ्जाल जरैदेखि उखेल्न सक्ने भन्दै केन्द्रले भ्रष्टाचार रोक्ने अभियानमा सहयोग गर्न सबैसँग अपिल गरेको छ ।