Tue. Apr 8th, 2025

‘एक महिनाभित्र औषधि खरिद गर्छौ’ – मन्त्री चौधरी

Health_minister_Ramjanam२१ मंसिर, चितवन – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीले औषधिको अभाव खड्किएको बताउँदै एक महिनाभित्र औषधि खरिद गरिसकिने बताएका छन्।

भरतपुरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले गोदामहरूमा बढीमा ४० दिनका लागिमात्रै औषधि भएकाले अब पनि ढिलो भए जीवन सुरक्षाका लागि अत्यावश्यक औषधिको अभाव हुने बताए। उनले पुरानो खरिद प्रक्रियाबाट औषधि झिकाउन सम्भव नहुने भन्दै फास्टट्र्याकबाट औषधि खरिदका लागि कार्यविधि तयार भइसकेको उल्लेख गरे।

एक दुई दिनभित्र टेन्डर आह्वान गरिने भन्दै मन्त्री चौधरीले गुणस्तरप्राप्त नेपाली कम्पनीलाई प्राथमिकता दिने बताए। उनले आपूर्तिकर्तालाई हवाई मार्गबाट भए पनि समयमै औषधि आपूर्ति गर्न लगाउने बताए। केही जीवनरक्षक औषधिहरू नेपालमा नबन्ने भएकाले ती औषधि हवाई मार्गबाट ल्याउने गरी फास्टट्र्याकबाटै खरिद गरिने मन्त्री चौधरीले जानकारी दिए।

भरतपुरको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निरीक्षण गर्न पुगेका मन्त्री चौधरीले अस्पतालमा अत्यावश्यक उपकरणहरू लामो समयदेखि बिग्रँदासमेत मर्मत नगरी बाहिर महँगोमा परीक्षण गराउँदै आएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए।

क्यान्सर अस्पतालको सिटी स्क्यान, मेमोग्राम, ब्राकी थेरापीलगायतका महत्वपूर्ण उपकरण लामो समयदेखि बिग्रिएपछि बिरामीले चार गुणा महँगो शुल्क तिरेर निजी अस्पतालमा परीक्षण गराउँदै आएका छन्।

मन्त्री चौधरीले ती उपकरण मर्मत गर्न सम्भव भए तत्काल गर्न र मर्मत हुन नसके फास्टट्र्याकबाटै तत्काल खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको बताए।फरक प्रसङ्गमा मन्त्री चौधरीले नेपालको राजनीतिक समस्या हल गर्न भारत जानु गलत भएको धारणा राखे।

हामी आफ्नो समस्या आफैं समाधान गर्न सक्षम भएको भन्दै राजनीतिक समस्या समाधानका लागि विदेशी गुहार्न नहुने  उनको भनाई थियो।  रासस

About The Author

अन्य समाचारहरु: