२१ मंङसिर–काठमाण्डौं रोजगारका लागि खाडीका ६ देश र मलेसिया जान भिसा र टिकट निःशुल्क उपलब्ध गराउने सरकारी निर्णयविपरीत म्यानपावर कम्पनीहरुले कामदारसित रकम असुल्न छाडेका छैनन् । सरकारी निर्णय ५ महिनासम्म कार्यान्वयन नहुँदा कामदारलाई आर्थिक भार परेको छ ।
जेठ २६ को मन्त्रिस्तरीय निर्णयबाट असार २१ देखि उक्त व्यवस्था लागू भएको हो । मलेसिया, कतार, साउदी, अरबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमन र कुवेत जान टिकट र भिसाको रकम तिर्नु नपर्ने सरकारी निर्णय हो । जसअनुसार टिकट र भिसाबापतको रकम रोजगारदाता कम्पनीले नै बेहोर्नुपर्छ । कामदार पठाएबापत म्यानपावर कम्पनीले रोजगारदाताबाट सेवा शुल्क कमिसन पाउँछन् । रोजगारीमा जान कामदारले ओरिएन्टेसन, मेडिकल, बिमा र कल्याणकारी कोषका लागि करिब ८ हजार रुपैयाँ मात्रै तिर्नुपर्नेछ ।
म्यानपावर कम्पनी र एजेन्टहरुले जथाभावी रकम लिए पनि आफूहरुलाई रसिद नदिएको कामदार बताउँछन् ।