२० मंसिर, काठमाण्डौं – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । रियल मड्रिडले गेटाफेलाई ४–१ ले हरायो । रियल मड्रिडको जितमा चारै गोल पहिलो हाफमा नै भएको थियो । करिम बेन्जिमाले चौंथो मिनेटमा नै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाए । १६ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । ३५ औं मिनेटमा ग्यारेथ बेल तथा ३८ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरेपछि पहिलो हाफमा रियल मड्रिड ४–० ले अघि रह्यो । ७० औं मिनेटमा गेटाफेका लागि रुवानो डेलगाडोले एक गोल फर्काए । जितपछि तेस्रो स्थानमा रहेको रियल मड्रिडको १४ खेलबाट ३० अंक भएको छ । १४ खेलबाट १४ अंक जोडेको गेटाफे १३ औं स्थानमा छ । शनिबार राति नै भएको अर्को खेलमा लमा एथ्लेटिको मड्रिडले ग्रनाडालाई २–० ले हरायो । १४ खेलबाट ३२ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ । १४ खेलबाट ११ अंक जोडेको ग्रनाडा १७ औं स्थानमा छ ।