सरिता श्रेष्ठ, १५ मंसिर/ धादिङ – धादिङमा बिसीजी खोपको अभाव देखिएको छ । जन्मको एक महिनाभित्रमा लगाइने पहिलो सुई क्षयरोगविरुद्धको बीसीजी खोपको अभाव देखिएको हो ।
३ वर्षदेखि नै आपूर्ति व्यवस्थापन महाशाखाले किन्न नसकेका कारण र भारतले गरेको अघोषित नाकाबन्दीका कारण बालबालिकालाई दादुरा र रुबेलाविरुद्ध दिइने एमआर र क्षयरोगविरुद्धको बीसीजी खोपको अभाव देखिएको जिल्ला स्वास्थ्य कार्यलय धादिङले जनाएको छ । समयमै आपूर्तिको व्यवस्था नमिलाउँदा रोगसँग लड्ने क्षमताको विकास गर्ने खोप लगाउनबाट बालबालिकाहरु बन्चित भएका छन् । जिल्लामा बीसीजी, दादुरा र रुबेला रोग नलागोस् भनेर दिइने खोप सकिएको छ ।
खोपको अभाव भएपछि यस आर्थिक वर्षदेखि महिना बिराएर खोप कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला स्वास्थ्य कार्यलय धादिङका प्रमुख जीवनकुमार मल्लले पाविलन्युज डटकमलाई जानकारी दिए । उनले भने ‘हामीले यस आर्थिक वर्षमा ८ हजार ८ सय ८८ जना बालबालिकाहरुलाई वीसीजी खोप लगाउने लक्ष्य राखेका छौँ । तर खोप अभावका कारण लक्ष्य पूरा नहुने लक्षण देखिएको छ ।’ बीसीजीको एक भाइल (सिरिन्ज) मा २० डोज औषधि हुन्छ । अथवा एक भाइलले २० बालबालिकालाई खोप लगाउन सकिन्छ । भाइल खोलेपछि ६ घन्टाभित्रमा बालबालिकालाई लगाइसक्नुपर्ने हुन्छ । यस अघि एक भाइलले एकजना बालबालिकालाई मात्र खोपको प्रयोग भएका हाल खोपको सिर्जना भएको हो ।
खोप नभएपछि जिल्ला अस्पताल धादिङबेसीमा बालबालिका लिएर खोप लाउन आउनेहरु त्यतिकै फर्किएका छन् । जिल्ला अस्पताल धादिङबेसीमा दैनिक रुपमा ३ देखि ६ जनासम्म शिशुहरु जन्मने गर्दछ तर उनीहरुलाई लगाउने खोपकै अभाव देखिएको छ । शिशु एक वर्षको हुँदासम्म विभिन्न ९ खोप लगाउनुपर्छ । क्षयरोगविरुद्धको खोप छुटेमा एक वर्षभित्र पनि लगाउन सकिन्छ । तर केन्द्रिय स्तरमा नै समस्या देखिएका कारण जिल्लामा अहिले समस्या परेको हो । धादिङको २ सय २५ वटा खोप केन्द्रहरुबाट नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ । तर खोप अभावका कारण सबै केन्द्रबाट सेवा दिन नसकेको कार्यलयले जनाएको छ ।
सरकारले निःशुल्क खोप कार्यक्रम सञ्चालन गर्दै आइरहेको भएपनि विषम परिस्थितिका कारण धेरै बालबालिकाहरु खोप लगाउनबाट वञ्चित भएका छन् । बाल मृत्युदर घटाउन बिभिन्न उमेर समुहका बालबालिकाहरुलाई खोप दिने गरिन्छ ।