१० मंसिर, धादिङ – वैशाख १२ गतेको विनाशकारी भुकम्पपछि पहिरो खसेर बिग्रिएका सडकहरुको निर्माण कार्य सुरु गरिएकोे छ । भुकम्पपछिको पुन निर्माणको काममा सघाउने उद्देश्यका साथ उत्तरी धादिङको विभिन्न गाँउहरुमा जानका लागि सडक निर्माण कार्य सुरु गरिएको हो ।
भुकम्पका कारण गएको पहिरोले सडक र गोरेटो बाटोहरु समेत बिग्रदा खच्चड समेत पुग्न नसक्ने अवस्था आएकाले गर्दा त्यहाँका स्थानीयहरुलाई खाद्यन्न लगायत अन्य उपभोग्य बस्तुहरु लैजान समेत असहज भएको थियो । धादिङको विकट उत्तरी क्षेत्रका पाँच गाँउ विकास समितिमा जानका लागि र कामको लागि खाद्यान्न कार्यक्रम अन्र्तरगत सडक र गोरेटो बाटो निर्माणको काममा गाँउलेहरु सबै जुटेका छन् ।
सडक निर्माणको काममा ४० दिन श्रमदान गरे बापत उनिहरुलाई एक सय पचास किलो ग्राम चामल र २७ किलोग्राम दाल दिईने जनाईएको छ । यसो गर्दा भुकम्पका कारण हाल परेको खाद्य संकट पनि टर्ने र सडक र गोरेटो बाटोको निर्माण पछि गाँउको विकास हुने पनि बताईएको छ ।
भुकम्प पछिको पुननिर्माण कार्यमा सघाउ पु¥याउने उद्देश्यले डब्लु एफ् पीको सहयोगमा हिमालयन हेल्थकेयर नेपालले धादिङ जिल्लाको उत्तरी गाविसहरु तिप्लिङ, सेर्तुङ, लापा, झालाङ र रि लगाएतका पाँच गाँउ विकास समितीहरुमा कामको लागि खाद्यन्न कार्यक्रम संचालन गरेको हो । अहिले सुरु भएको कार्यक्रम अन्र्तरगत पहिलो चरणमा गोरेटो बाटो र दोस्रो चरणमा मोटरयवल सडक निमार्ण गर्न सुरु गरेको छ ।