श्यामबहादुर मगराती –
भूकम्पबाट प्रताडित बनाएको नेपालीलाई भारतीय नाकाबन्दीले अझ प्रताडित बनाएको छ । विगत तीन महिनादेखि मधेसमा जारी आन्दोलन र दुई महिनाभन्दा लामो समयदेखिको नाकाबन्दीले सीमा क्षेत्रबाट हुने आयात ठप्प भएको छ । लामो समयदेखि इन्धन लगायत अत्यावश्यक सामग्रीको आपूर्ति हुन नसक्दा जनजीवन अत्यन्तै कष्टकर बन्दै गएको छ । चरम अभाव र कष्ठका बाबजुत नेपालीहरुले दुई ठूला मुख्य पर्व दशैं र तिहार मनाई सकेका छन् । तैपनि आपूर्ति सहज हुने कुनै ठोस संकेत आएको छैन । चरम इन्धन संकटले नेपालीहरुको जनजीवन दयनीय र पीडादायी बन्दै जाँदा नेपालमा मानवीय संकट पैदा हुन सक्ने संकेत अन्तर्राष्ट्रिय संघ संस्थाहरुले समेत दिई सकेका छन् ।
भौगोलिक रुपमा भुपरिवेष्ठित मुलुक नेपाल आर्थिक रुपमा भारतको परनिर्भरतामा रहेकोछ । इन्धन, खाद्य पदार्थ, निर्माण सामग्री, स्वास्थ्य सामग्री लगायतका जीवनका अत्यावश्यकीय सामग्री भारतबाट आयात हुँदै आएकोमा नाकाबन्दीकाकारण नेपालीहरुको जनजीविकामा गम्भीर संकट परेकोछ । खाना पकाउने ग्याँसको अभावमा सर्वसाधारणको चुलो कैयौं दिनदेखि बलेको छैन । पेट्रोल र डिजलको अभावमा आम नागरिकहरुको आवतजावतमा समस्या परेकोछ । नाकाबन्दीको अवसर पारि काला बजारीहरुको व्यवसाय फस्टाएकोछ । बजारमा महंगीले आकाश छोएकोछ । यहाँ एक नेपालीले अर्को नेपालीको वेदना र पीडा बुझ्नेवाला छैन । यस्ता अनगिन्ती समस्याहरु नेपालीहरुमाझ थुपरिएका छन् । नेपालमा अत्यावश्यक सामाग्रीको आपूर्ति समेत ठप्प पार्ने गरी भारतले नाकाबन्दी लगाउनु द्विदेशीय सम्बन्ध, अन्तर्राष्ट्रिय मुल्य मान्यता, कानुन, भूपरिवेष्ठित राष्ट्रको पारवहन अधिकार जस्ता कोणबाट विपरित छ ।
अहिले भईरहेको नाकाबन्दी युद्धरत समयमा समेत गर्न मिल्दैन । भारतले लगाएको नाकाबन्दी पराकाष्ट हो भने भारतीय समस्या पनि हो । त्यसैले भारतले नाकाबन्दी लगाउँदैमा यतिको मात्रामा यहाँको जनजीवन कष्टप्रद हुनुमा हामी स्वयं नेपाली पनि आत्मालोचित र लज्जित हुने अवस्था छ । नेपाल र भारतबीचको यी विषयहरुमा चर्चा गरिन आवश्यक छ ।
आयात ठप्प पार्ने गरी भारतले नेपालमाथि लगाएको नाकाबन्दी एउटा कमजोर र सार्वभौमसत्ता सम्पन्न मुलुकमाथि छिमेकी मुलुकले प्रदर्शन गरेको बलमिच्याइँ र खराब नियत हो । नेपाललाई सम्पूर्ण रुपमा आफूमाथि निर्भर तुल्याउने प्रयास अन्तिम समयमा आएर असफल भएपछि उसले नाकाबन्दीको गोटी चालेको हो । नेपालमा अहिले जारी भएको संविधानमा भारतको आफ्नो ईच्छा पूरा नभएपछि मधेसी समुदाय र तिनको असन्तुष्टिलाई मुख्य विषय बनाएर मधेसी समुदायलाई आन्दोलन गर्न लगाई सो का कारण असुरक्षाको बहाना बनाएर आपूर्ति रोकेको छ । नेपालमा इन्धन अभावले मानव संकट हुन लाग्दा समेत भारतले नाकाबन्दी गरेको छैन भनेर झुटको खेती गरेको छ । भारतले अन्तर्राष्ट्रिय समुदायलाई आफूले नेपाललाई भुपरिवेष्ठित मुलुकको पारवहन अधिकार नखोसेको देखाउन निकै सानो परिमाणमा इन्धन निर्यात गरेकोछ । विभिन्न बहानामा कयौं पटक नाका खोल्ने आश्वासन दिँदै आए पनि विश्वसामु लज्जास्पद हुने डरले हालसम्म भारतले नाकाबन्दी खोल्ने साहस देखाउन सकेको छैन । जे जसरी भए पनि नेपाललाई समस्यामा पार्ने र आफ्नो स्वार्थ पूरा गर्ने दाउपेच खेलेकोछ । यद्यपी, भारतको असली नियत अब विश्व समुदायले स्पष्ट बुझेका छन् ।
भारतले आफूलाई चित्त नबुझेको विषयहरुमा यस अघि पनि नाकाबन्दी गरेको थियो । यस पटक पनि नाकाबन्दीको अस्त्र प्रयोग गरेकोछ । नेपालबाट आफ्नो राजनीतिक वर्चस्व फुत्किन नदिन र अनन्त समयसम्म अघोषित उपनिवेश बनाउन भारत क्रियाशील छ । नेपालमा लगाएको नाकाबन्दीले भारतको ईज्जत र प्रतिष्ठामा आँच आउने भन्दै त्यहाँका विद्धत वर्ग र नागरिकहरुले मोदी सरकारको चर्को आलोचना गर्न थालेका छन् भने अन्तर्राष्ट्रिय मञ्चबाट समेत नाकाबन्दीको विश्वव्यापीकरण भएकोछ ।
भारतले लगाएको नाकाबन्दीको विरोध गरिरहँदा हामी नेपालीहरुले पनि स्वमुल्यांकन र समिक्षा गर्नु उत्तिकै जरुरी छ । मुलुकमा जति नै ठूलो राजनीतिक परिवर्तन भएर शासन व्यवस्था कायम भएता पनि त्यो शासन व्यवस्था कतिसम्मको लंंगडो रहेछ भन्ने कुरा यस नाकाबन्दीको घटना क्रमले प्रष्ट बनाएको छ । २७ वर्ष अघि १३ महिनासम्म नाकाबन्दी थेग्ने साहस राखेको नेपालले अहिलेको दुई महिनाको नाकाबन्दी थेग्न हम्मे हम्मे परेकोछ । भारतमाथिको अत्यधिक निर्भरता नेपालको लागि प्रतित्युपादक हो । जसका कारण नेपालको हैसियत कमजोर देखिएको छ । हामी नेपाल र नेपालीहरु परनिर्भरताबाट मुक्त भई आत्म निर्भरतिर लम्कन साहस गरेनौं । त्यसैको परिणाम हो अहिलेको नाकाबन्दी ।
नेपालमा नयाँ उद्योग तथा कलकारखाना खोल्नु त परै जाओस् संचालित उद्योग तथा कलकारखानाहरु पनि राज्यले सही रुपमा व्यवस्थापन गर्न नसक्दा क्रमशः बन्द हुँदै जाने परिस्थितिले मुलुकको उत्पादनको स्थिति नाजुक भएकोछ । अर्कोे तर्फ बृहत सम्भावना हुँदा हुँदै पनि ती सम्भावनाहरुको खोजी गर्ने तर्फ राज्य मौन छ । नेपालमा उपलब्ध जल सम्पदाको उचित उपयोग गरेर विद्युत उत्पादन गर्ने, खेर गईरहेका वन सम्पदाबाट जडीबुटी उत्पादन गर्ने, काम त कता हो बरु तिनै सम्पदाहरु विदेशीहरुलाई सुम्पेर परनिर्भर हुने प्रयासहरु भएका छन् । सबै भन्दा महत्वपूर्ण कुरा भारतको नेपालमाथिको प्रभाव र अन्तर्राष्टिय विश्वासमा क्षयीकरण हुँदै गएको छ । भारतले लगाएको नाकाबन्दीको चुनौतीलाई अवसरमा बदल्दै मुलुकभित्रको सम्भावनाहरुको खोजी गर्नुपर्दछ ।