२ मंसिर, धादिङ – भारतबाट छिरेका ग्यासका बुलेटहरु कहाँ हराए भनेर खोजी भइरहेका बेला ती बुलेटहरु धादिङका विभिन्न ग्यास उद्योगहरुमा छिरेको खुलासा भएको छ । त्यहाँ हजारौं सिलिण्डरहरु भरेर तयारी अवस्थामा राखिएको छ ।
तर, कालोबजारी गर्ने समूहले अवरोध गरेपछि आधा भरिएका ग्यासका हजारौं सिलिन्डरहरु काठमाडौं ल्याउन समस्या भएको रहस्य खुलेको छ । त्यहाँ भरिएका सिलिण्डरहरु काठमाडौं लैजान नदिने भन्दै केही उछृङ्खल समूहले उद्योगमै अवरोध खडा गरेको सरकारद्वारा गठित ग्यास तथा पेट्रोल कन्ट्रोल रुमले जनाएको छ ।
आधा भरिएका सबै सिलिन्डरहरु सुरक्षाकै कारण काठमाडौं ल्याउन नसकिएको कन्ट्रोल रुमका प्रमुख तथा बाणिज्य विभागका निर्देशक हरिनारायण बेल्वासेले अनलाइनखबरलाई बताए ।
‘ट्रिपरमा खाली सिलिन्डर बोकेर मान्छेहरु उद्योग परिसरमै पुगेका छन्, न त्यहाँ ग्यास वितरण गर्न सहज छ, न काठमाडौंमा ल्याएर बाँड्न सकिने अवस्था छ,’ धादिङका ग्यास उद्योगहरुको अनुगमनमा पुगेका निर्देशक बेल्वासेले भने ।
धादिङमा एचपी, एसटीसी, सिद्धार्थ, श्रीरामलगायतका ग्यास उद्योगहरुले ग्यासका सिलिण्डरहरु भर्ने काम गरे पनि काठमाडौं ल्याउन पाएका छैनन् ।
तस्करहरुले सिद्धार्थ ग्यासका सित्ता सिलिण्डर दिनोस् २ सय देखि ४ हजारसम्ममा भैरहवामा भरेर ल्याइदिन्छौं भन्दै उपभोक्तालाई ठग्न थालेका छन्
मंगलबार एचपी ग्यासले २ हजार सिलिन्डर उद्योगबाट बाहिर पठाएको छ । तर, सुरक्षाका कारण झण्डै १० हजार सिलिन्डरहरु अझै उद्योगमै थन्किएको स्रोतले बतायो छ ।
उद्योगमा घेरा हाल्न पुगेकाहरुले आफुहरुलाई बिक्री गरेपछि मात्रै काठमाडौं लैजान दिने बताएका छन् ।
प्रहरीले असहयोग गरेको गुनासो
‘सुरक्षा दिन स्थानीय प्रहरीले पनि खासै सहयोग गरेन, माथिल्लो निकायमा समन्वय गर्दा पनि सुरक्षाको प्रत्याभूति नभएपछि सबै ग्यास सिलिन्डरहरु निकाल्न सकिएन,’ बेल्वासेले भने( ‘प्रहरीले असन्तुष्टहरुलाई मनाएर लैजानुस् भनेर पन्छिएकाले भरिएका ग्यासका सिलिण्डरहरु काठमाडौं ल्याउन चुनौति खडा भएको छ ।’
बेल्बासेले सुरक्षाका कारण भिड छिचोलेर ग्यास काठमाडौं ल्याउन नसकिने बताए ।
तस्करको चलखेल
यसैवीच धादिङमा भरिएका ग्यासका सिलिण्डरहरु सहजरुपमा काठमाडौं छिर्न नदिएर तस्करहरुले राजधानीमा चलखेल गर्न थालेका छन् । तस्करहरुले सिद्धार्थ ग्यासका सित्ता सिलिण्डर दिनोस् २ सय देखि ४ हजारसम्ममा भैरहवामा भरेर ल्याइदिन्छौं भन्दै उपभोक्तालाई ठग्न थालेका छन् ।
ती तस्करहरुले भैरहवा नभई धादिङको उद्योगबाट आफूमार्फत ग्यास ल्याएर उपभोक्ता ठग्नका लागि उद्योगमा अवरोध पुर्याएको स्रोतको दाबी छ । स्रोतले भन्यो( ‘काठमाडौंबाट ट्रिपरमा हालेर धादिङ पुर्याइएका ती रित्ता सिलिण्डरहरु त्यही चलखेलको प्रमाण हो ।’
नाकाबाट आएका बुलेटबाट भरिएका ग्यासका सिलिण्डरहरु नियमित प्रक्रियाबाट उपभोक्तलाई बाँड्ने हो भने सरकारले तोकेको मूल्यमा बेच्नुपर्ने हुन्छ । तर, सो ग्यास तस्करमार्फत आयो भने ४५ सयसम्म पर्न जाने भएकाले तस्करहरुले ग्यास उद्योगमा अवरोध पुर्याएको बताइन्छ ।
उद्योगमा भरिएका सिलिण्डरहरु सहजरुपमा राजधानी ल्याउन प्रहरीले असहयोग गर्नु थप रहस्यमय देखिएको छ । ल्हासामा सुन छ, कान मेरो बुच्चै भन्ने आहानजस्तै सरकारले सुरक्षा दिन नसक्दा धादिङमा ग्यास भए पनि राजधानीबासीले पाउन सकेका छैनन् । अनलाइनखबरबाट