काठमाडौं– दुई सातापछि फ्रान्सको राजधानी पेरिसमा कसरी हरित गृह ग्यास उत्सर्जन कम गरेर विश्व तापक्रम नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा चर्को बहस हँुदैछ । यो बहसमा शक्तिशाली मुलुक अमेरिकाका राष्ट्रपति बाराक ओबामासहित ६० भन्दा बढी देशका सरकार तथा राष्ट्रप्रमुख उपस्थित हुनेछन् ।त्यसमा नेपालले पनि भाग लिँदैछ ।
विडम्बना, वन जोगाएर वातावरणमैत्री मुलुकका रूपमा विश्वमा परिचित नेपालले नागरिकलाई हरितगृह ग्यास बढी उत्सर्जन गर्ने दाउरा आइतबार बाँड्न थालेको छ । भारतले गरेको नाकाबन्दीका कारण इन्धन अभाव भएपछि विकल्पका रूपमा सरकारले राजधानीमा दाउरा बाँड्न सुरु गरेको हो ।
विज्ञहरूका अनुसार दाउरा बाल्दा हरितगृह ग्यासअन्तर्गतको मुख्य तत्व कार्बन डाइअक्साइड र कार्बन मोनोअक्साइड निस्किन्छ । यसले वायु प्रदुषणमा मुख्य भूमिका निर्वाह गर्दछ । त्यसैले हरितगृह ग्यास उत्सर्जन कम गरी विश्व तापक्रम नियन्त्रण गर्ने संयुक्त राष्ट्रसंघको महासन्धि अनुमोदन गरेको नेपालको यो कदम बाध्यात्मक भए पनि वातावरणमैत्री भने नभएको छ ।
हरितगृह ग्यास उत्सर्जन नियन्त्रण गरेर विश्व तापमानको वृद्घिदरलाई दुई प्रतिशतमा कायम राख्न यो सम्मेलनले नयाँ विश्वव्यापी सम्झौता गर्ने लगभग टुंगो लागिसकेको छ । राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पक्ष राष्ट्रहरूको सम्मेलन ९कोप–२१० वायु प्रदूषण घटाई तापक्रम नियन्त्रण गर्ने उद्देश्यको सबैभन्दा ठूलो मञ्च हो । महासन्धि अनुमोदन गरेको राष्ट्र भएकाले पनि नेपालको उपस्थिति अनिवार्य छ । यसका लागि प्रधानमन्त्रीलाई निमन्त्रणासमेत आइसकेको छ ।
‘एलपिजी ग्यास र दाउरा बाल्दा निस्कने समग्र प्रदूषणको हिसाब गर्दा दाउरा नै बढी प्रदूषक मानिन्छ,’ विश्व वन्यजन्तु कोषका उपनिर्देशन युगान मानन्धरले भने ।उनका अनुसार ‘गोल्ड स्टान्डर्ड’ विधि प्रयोग गर्दा एक किलो दाउरा बाल्दा एक वर्षमा दुई किलो कार्बन डाइअक्साइड निस्कन्छ । सरकारले अहिले जम्मा १८ सय टन दाउरा बाँड्ने योजना बनाएको छ । युगानका अनुसार यो दाउरा एक वर्षमा बाल्दा २ हजार ९ सय ५५ टन कार्बन डाइअक्साइड निस्कन्छ । उनले प्रयोग गरेको प्रविधिमा एक वर्षमा भएको खपतको हिसाब गरिन्छ ।
नागरिकबाट