Tue. Mar 4th, 2025

धनि र गरिवको प्रतिस्पर्धा चाडपर्व

राधिका सापकोटा –

radhika sapkotaधादिङवेसीमा तिहारको रौनकता छाएको थियो । भाइटिकाको अघिल्लो दिन भएकोले बजार एकदमै व्यस्त थियो । माइती जाने चेलीबेटि र घर आउने दाजुभाईहरुले बजारलाई कुनै जात्रा लागेको मन्दिर जस्तै बनाइदिएका थियो । यातायातका साधनहरुमा कहि कतै खुट्टा समेत राख्ने ठाउँ नहुने गरी भरीभराउ देखिन्थे । पसलहरु प्राय सबै व्यस्त नै देखिन्थे । म साझा मार्टमा केही समय बसेको थिए । ३, ४ जनाको एउटा समूह सामान किन्नका लागि आए । धेरै बेर लगाएर उनीहरुले सामान छनौट गरे । एउटा बहिनीले सामान बोक्ने बाक्सामा भाई मसला, केही अलि महङ्गो खालका चकलेट र केही विस्कुटका पाकेटहरु जम्मा गरिन । उनी पैसा तिर्नका लागि काउन्टरमा आइन् तर उनीसंगै आएका २ जना अरु बहिनीहरुले उनको बाक्साबाट विस्कुट र चकलेट झिकेर फिर्ता गरिदिए । उनीहरुको विचमा लामो लुछाचुडी भयो । ती बहिनी त्यो सामान लान चाहान्थिन तर अरु २ जना बहिनीहरु उनले त्यो सामान नलगे हुन्छ भन्नेमा कोसिस गरिरहेका थिए । धेरै बेर मैले उनीहरुलाई हेरे । धेरै पटक त्यो सामान लाने र ल्याउने भयो ।

अन्तिममा ती बहिनीको मनले मानेन उनले सोचेको जति सामान लिएर गइन् । यो दृष्य हेरिरहदा मैले त्यहाँ धनी र गरिव बिचको भिन्नता, पीडाको महसुस गरे । ती ३ मध्ये जो सामान किन्न चाहान्थिन उनको लवाई हेर्दा उनी आर्थिक रुपमा कमजोर छिन् भन्ने देखिन्थ्यो । सायद त्यसैले अरु २ जना जो देख्दा सम्पन्न देखिन्थे उनीहरु उनलाई तिमी गरिब छौं, कमजोर छौं त्यसैले तिमी खर्च गर्न सक्दिनौ भन्ने कुरा बुझाउन खोजी रहेका थिए । तर ती बहिनीलाई आफू कमजोर छु भन्ने कुराले हिन्नता बोध भैरहेको थियो त्यसैले उनी म गरिब भएकोले अरुको अगाडी कमजोर देखिन्छु की भन्ने कुरामा सजग थिइन् । त्यसैले उनी अरुले लगेको जति सामान लान चाहान्थिन् । सायद यी ३ जना एउटै परिवारका बहिनीहरु थिए । एउटै परिवार, एउटै दिदिबहिनी भित्र त यो खालको भावना हुन्छ भने समाजको वर्गिय विभाजनलाई हामी कसरी अन्त्य गर्न सक्छौं । यी चाडपर्वले साच्चै कति प्रतिस्पर्धि बनाएको छ मानिसलाई । तिज, दशै, तिहार यी सबै चाडले मानिसलाई नराम्रो प्रतिस्पर्धा गराईरहेको भान हुन्छ । तिज आयो कसले बढि गहना लगाएको छ ? कस्ले कति महङ्गो सारी लगाएको छ ? त्यसको तुलना हुन्छ ।

दशै आयो त्यही गहना र कपडामा तुलना हुन्छ । तिहार आयो त्यो संगै कसले कति सामान कोसेली लिएर आयो ? दाजुभाईलाई के उपहार ल्याइदियो आदि । गत वर्ष मेरो एकजना साथीले तिहारमा १५ हजार सामान खरिदमा खर्च भयो भन्नु भयो । मैले अनौठो मानेर सोधेर १५ हजारको के सामान किन्नु भयो र ? उहाँले भन्नु भयो बहिनीहरुले कतिधेरै मसला र सामान ल्याउँछन् आफूले नलादा लाज हुन्छ के गर्नु ? मलाई लाग्यो सायद तिहारमा कोसेलीको प्रतिस्पर्धा हुन्छ । धनि र गरिबको मापन यही गहना, लुगा र कोसेलीमा गरिन्छ । सायद गरिब देखियो भने उनलाई गर्ने सम्मान र माइतीले हेर्ने दृष्टिकोणमा पनि फरक पर्छ होला त्यसैले सबै जबरजस्त धनी देखिन खोजीरहेका छन् । गरिव र कमजोर हुनुको पीडा मैले ती बहिनीमा देखि रहेकी थिए । अनि संगै त गरिब छस् भनेर उनलाई पटक पटक संझाउने ती अरु २ बहिनीहरुको अहमता पनि । उनी गरिब नै थिइन् तर उनको इच्छा त्यहाँ किन मार्न खोजिदै थियो ? सायद त्यो दया भित्र उनी पीडाको महसुस गरिरहेकी थिइन् ।

एउटै परिवार जसलाई सबैको इतिहास थाहा छ, को कहाँ र कस्तो अवस्थामा छ त्यो थाहा छ र त हामी देखाउन खोज्छौं । को भन्दा को कम भनेर प्रतिस्पर्धा गर्छौं भने अरु समाजको विचको प्रतिस्पर्धा कुनै अस्वभाविक हैन जस्तो लाग्छ । एउटा नराम्रो बाध्यता यी पर्वहरुले सृजना गरिदिने रहेछन् । यो मानविय स्वभाव हो, कोही पनि अरुभन्दा कमोजोर हुन चाहादैन वा देखाउन चाहादैन जसका लागि ऋण गरेरै भएपनि आफू अरु समान देखिने प्रयास हुन्छ । तिज, तिहार र दशैका लागि १० गुणा बढि श्रम गर्नुपर्ने बाध्यता सृजना भएको हुन्छ । तर पनि समान देखिने अभिलासा भैरहन्छ । कहिले सम्म हुन्छ यो प्रतिस्पर्धा ? कहिले सम्म यी बहिनीहरुले प्रतिस्पर्धामा कमजोर होइएलाकी भन्ने डरले चाड मनाईरहने ? आखिर कहिले सम्म ??????

About The Author