
मंसिर १, लन्डन – उनको उचाईं केवल २१ दशमलव ५ इञ्च । गिनिज् वल्र्ड रेकर्डस् मा विश्वकै होचो व्यक्तिका रुपमा आफ्नो नाम लेखाएका ७४ वर्षीय चन्द्रबहादुर डांगी लन्डनमा सम्मानले व्यस्त भएका छन् । गिनिज वल्र्ड रेकर्ड डेको ६० औं वर्षगाँठ मनाउन उक्त संस्थाको निम्तोमा लन्डन आएका डाँगीले बेलायतको संसद भवन अगाडि विश्वकै सबैभन्दा अग्लो व्यक्ति टर्कीका सुल्तान कोसेन (८ फिट एक इञ्च) सँग भेट गरेपछि उनी अन्तर्राष्ट्रिय मिडियामा रातारात छाए । विश्वकै सबैभन्दा अग्लो र होचो व्यक्ति जमघट भएको क्षण विश्वभरका मिडियाका लागि विकाउ वस्तु बन्यो । सबैले उनीहरुको हात मिलाएको तस्विर क्यामेरामा कैद गर्न भ्याए, टेलिभिजनले प्रसारण गरे ।
‘मलाई सबैभन्दा अग्लो मान्छे भेट्दा रमाइलो लाग्यो’, आइतबार कान्तिपुरसंग कुरा गर्दै डांगीले भने, ‘तर उसले नेपाली नबुझ्ने अनि म उसको भाषा नबुझ्ने । के बोल्यो के थाहै पाइन ।’ होचो कदका डांगी लन्डनमा मिडिया अनि व्यक्तिहरुबाट पाएको उच्च सम्मानले गद्गद् देखिन्थे । गिनिज वल्र्ड रेकर्डस् संस्थाले आफ्नै खर्चमा डांगीलाई लन्डन बोलाएर एउटा विशेष कार्यक्रममा आतिथ्यतामात्र दिएन, लन्डन शहरका आकर्षक एवं ऐतिहासिक पर्यटकीय स्थलहरु समेत घुमायो । आइवीस होटलमा सानसंग बसे उनी । ‘पहिलोपटक यूके आएर धेरै घुम्न पाएं, मिठो मिठो खाएं’, उनी खुशी थिए । वल्र्ड रेकर्ड राख्न पहल गर्ने भतिज दोलक डांगीसंगै लन्डन आएका चन्द्रबहादुरले नेपाल र नेपालीलाई विश्वभर चिनाउन सकेकामा गर्व समेत लागेको बताए ।
सल्यान स्थायी घर भइ अचेल दाङ बस्ने डांगीले बेलायतको नेपाली समुदायबाट पनि सम्मान पाएका छन् । आइतबार गैर आवासीय नेपाली संघ, बेलायतको कार्यालयको औपचारिक उद्घाटन कार्यक्रममा उनलाई विशेष अतिथीको रुपमा उपस्थित गराइंदा उनीप्रति सद्भाव दर्शाउने र आर्थिक सहयोग गर्ने गैर आवासीय नेपालीको कमी रहेन । डांगीसंग सेल्फी लिनेको पनि उस्तै भीड रह्यो । त्यस अवसरमा एकैछिनमा उनलाई करिब तीन सय पाउण्ड आर्थिक सहयोग प्रदान गरियो । उता, सांझ रेडिङ नेपाली समाजले पनि डांगीलाई सम्मानसहित विभिन्न संस्थाबाट उठाएर ७ सय १७ पाउण्ड -एकलाख चौध हजार ७ सय २० रुपैयां) प्रदान गरेको छ । रेडिङ नेपाली समाजका महासचिव यादव श्रेष्ठको पहलमा उनलाई सम्मान एवं आर्थिक संकलन गरिएको थियो । श्रेष्ठ गिनिज वल्र्ड रेकर्डस् संस्थाले खटाएर डांगीको बेलायत भ्रमण समन्वय गर्न जुटेका थिए ।
ekantipur.com बाट साभार