Tue. Nov 26th, 2024

महँगो भयो यसपालीको तिहार

ful
२५ कात्तिक, काठमाडौं –  गोरखा फुजेलकी उमादेवी पन्तलाई तिहार खर्च कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले पिरोलेको छ। नाकाबन्दीका कारण हरेक सामानको भाउ अकासिएको छ।

पाँचजना परिवारमा निजी विद्यालयका शिक्षक पतिको मासिक १९ हजार रुपैयाँ तलबकै भरमा घरखर्च चलाउनुपर्ने बाध्यता छ उनलाई।’यसपालि त नाकाबन्दीका कारण तिहार टार्न झन् गाह्रो भएको छ, हरेक सामानको भाउ १० देखि ३० प्रतिशतसम्म बढेको छ,’ मंगलबार असनमा तिहारका लागि सामान किन्दै गरेकी उनले भनिन्।

चाडपर्वका बेला केही भाउ बढ्ने गरे पनि यसपटक नाकाबन्दी कारण देखाएर अचाक्ली बढाइँदा सर्वसाधारण चर्को मारमा परेका छन्।‘मखमली फूलको मालादेखि काजु, किसमिस, बदाम, स्याउ, सुन्तला, अनारलगायत सबै प्रकारका फलफूलको भाउ छोइनसक्नु महँगो भएको छ । किन यति धेरै भाउ बढेको भन्दा नाकाबन्दीले भन्छन्,’ उनले महँगीको पीडा पोखिन्।

घरमा उनीसहित पति, एक छोरा, एक छोरी र सासू छन्। उनलाई तीन दाजुभाइ र छोरीका लागि भाइटीकाको मरमसला किन्नुपर्छ। ‘महँगीले खर्च पुर्‍याउन निकै कठिन भएको छ। हुन त दाजुभाइलाई सगुन दिने सामानको हिसाबकिताब गर्नु हुन्न भन्छन्, तै पनि खर्च गर्नु परिहाल्यो,’ उनले भनिन्, ‘खर्च निकै कटौती गर्दा पनि १० हजार रुपैयाँले नपुग्ने भयो । घरको नियमित खर्च त छँदैछ।’

उमादेवीजस्तै निम्न मध्यमवर्गीय परिवारलाई नाकाबन्दीका कारण यसपालिको तिहारले पीडा धेरै दिएको छ। घरमा खाना पकाउने ग्यास छैन। सार्वजनिक सवारीसाधनले ब्ल्याकमा तेल किनेको भन्दै तोकिएभन्दा बढी भाडा असुलिरहेका छन्। खाने तेलको भाउ दोब्बर बढेको छ।नाकाबन्दीलाई कारण देखाएर भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई दिने काजु, किसमिस, बदाम, अनार, सुन्तलालगायतका फलफूलको मूल्य विगतका तिहारको तुलनामा ३० प्रतिशतसम्म बढाइएको छ। नाकाबन्दीका कारण निजी क्षेत्रका अधिकांश कम्पनीले कर्मचारीलाई मासिक तलबसमेत दिन सकेका छैनन्।

नाकाबन्दीले जतिसुकै पीडा र दुःख दिए पनि बजारमा तिहारको सामान किनमेल गर्नेको भीड भने बढेको छ। असन, इन्द्रचोक, न्युरोडलगायतका मुख्य व्यापारिक क्षेत्रमा लक्ष्मीपूजा र भाइटीकाको सामान किन्नेको भीड सोमबारदेखि नै बढेको हो। व्यापारी भने गत वर्षको तुलनामा यसपटक २० देखि २५ प्रतिशतसम्म व्यापार घटेको दाबी गर्छन् । सबै सामानको मूल्य बढेकाले सर्वसाधारणको क्रय क्षमतामा ह्रास देखिएको विक्रेताको अनुमान रहेको  छ ।
अन्नपूर्णबाट

About The Author

अन्य समाचारहरु: