२० कात्तिक, नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा अहिले पनि नेपाली युवतीहरु बेचिने गरेका छन् ।
हेल्प नेपाली मिसन दिल्लीका अध्यक्ष कवि कार्कीले नेपाली युवतीहरु अहिले पनि दिल्लीमा बेचिने गरेको बताए ।
१२ वर्षदेखि हेल्प नेपाल मिसनका अध्यक्ष भई करिब एक सय जना नेपालीहरुको उद्धार गरिसकेका कार्कीले दिल्लीको जिबी रोडमा नुवाकोट, सिन्धुपाल्चोक, दाङ, मकवानपुरका अधिकांश नेपाली चेली यौनधन्दामा संलग्न रहेको बताए ।
४० नम्बरदेखि ७० नम्बर बिल्डिङसम्म यौनधन्दा चलिरहने जिबी रोडका कोठीहरुमा १४ वर्षदेखि ४० वर्षसम्मका केटी-महिला यौनधन्दामा छन् । शुरुमा आएर यौनधन्दा गरेकाहरु विस्तारै आफै एजेन्ट बनेर बसेका छन् ।
सिरिया, साउदी अरब, तुकिस्तान, लिबियामा पनि नेपाली केटी बेचिन्छन् । उनीहरु दिल्ली, श्रीलंका हुँदै उता पुर्याइने गरेको कार्कीले जानकारी दिए ।
नयाँ पत्रिकाबाट