धादिङ – धादिङको नीलकण्ठ नगरपालिका वडा नं ९ मा रहेको प्रशन्न आमा स्वास्थ सहकारीले पहिलो वर्षमा नै ३२ हजार खुृद मुनाफा गर्न सफल भएको छ ।
सहकारीको विहिबार सम्पन्न पहिलो साधारणसभामा छोटो समयमा नै लोकप्रियता कमाउन सफल भएको जानकारी गराइएको छ । सहकारीले साविकको मुरलीभन्जयाङ र हालको नीलकण्ठ नगरपालिका वडा नं ८, ९ र १० मा विभिन्न महिलाहरुलाई स्वास्थ्य र सरसफाइ तथा प्रजनन स्वास्थ्यको विषयमा जनचेतनामुलक काम गर्दे आएको छ ।
अहिले संस्थानमा ३ सय २५ जना महिलाहरु शेयर सदस्य रहेका छन । सहकारीले गत आर्थिक वर्षको अन्त्यसम्ममा १५ लाख रुपैया वचत संकलन गरेको र १३ लाख रुपैया विभिन्न आमा समुह र महिलाहरुमार्फत लगानी गरेको सहकारीकी अध्यक्ष अम्विका दुवाडीले जानकारी दिइन् । साधारण सभामा सहकारीका ब्यवस्थापक विनिता लंसालले सहकारीको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सारदा लंसालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभामा शुभकामना मन्तब्य दिदै प्रमुख अतिथि एवं शान्ति नेपालका सामुदायिक स्वास्थ अधिकृत इन्द्रमान शाक्यले आमाहरुले मात्र संचालन गर्दे आएको प्रशस्न स्वास्थ्य आमा सहकारीलाइ जिल्लाकै नमुना आमा सहकारी बनाउन आग्रह गर्दे आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । शान्ति नेपालले सहकारीको प्रवद्र्धन र ब्यवस्थापनमा सहयोग गर्दे आइरहेको छ ।
साधारण सभाकै अवसर पारी सहकारीका जेष्ठ सदस्यहरु विष्णुमाया विश्वकर्मा, मिश्रा श्रेष्ठ, झंककुमारी ढुङगाना र फुलमाया गुरुङलाइ सम्मान गरिएको थियो । साधारण सभामा स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष वैकुण्ड लंसाल, मण्डली महिला बहुउद्येश्यीय सहकारी सस्थाकी अध्यक्ष भगवती पौडेल, समता कृषि तथा पशुपालन सहकारी अध्यक्ष राजन बराइली, उद्यमशील सहकारीका अध्यक्ष दान बहादुर कुमाल वडा नागरिक मंन्चका संयोजकहरु लगायतले मन्तब्य राख्दै सहकारीको सफलता र उन्नतीको कामना गरेका थिए ।