१८ कात्तिक, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका लागि विद्युत् प्राधिकरणसँग सुविधासम्पन्न गाडी मागिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गाडी उपलब्ध गराउन ऊर्जा मन्त्रालयमार्फत विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले भने प्राधिकरणले निर्माण गरिरहेको भरतपुर–हैटौँडा प्रसारण लाइनको बा।१३च ९७१३ नम्बरको टोयोटा ल्यान्ड क्रुजर गाडी लगेका छन् ।
प्राधिकरणले आयोजनाका लागि करिब दुई करोड रुपैयाँमा त्यो गाडी किनेको थियो । प्रधानमन्त्री कार्यालयको निर्देशनमा ऊर्जा मन्त्रालयले १५ कात्तिकमा प्राधिकरणलाई पत्राचार गरेर प्रधानमन्त्रीलाई सुविधासम्पन्न गाडी उपलब्ध गराउन भनेको छ ।
मन्त्रालयको पत्रमा भनिएको छ, ‘सम्मानीय प्रधानमन्त्रीले चढ्ने गाडी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट माग भएकाले एक थान सुविधासम्पन्न गाडी उपलब्ध गराइदिनु हुन अनुरोध छ ।’ प्राधिकरणले ऊर्जामन्त्रीलाई दिएकैजस्तो भरतपुर–हैटौँडा प्रसारण लाइनका लागि नै किनिएको गाडी प्रधानमन्त्री कार्यालयमा पठाउने तयारी गरेको छ । ‘प्रधानमन्त्रीका लागि ऊर्जा मन्त्रालयबाट गाडी माग भएकाले ऊर्जामन्त्रीलाई नै उपलब्ध गराएजस्तो गाडी दिने तयारी भइरहेको छ,’ प्राधिकरण स्रोतले भन्यो ।
प्राधिकरणले प्रसारण लाइन आयोजनाका लागि सुविधासम्पन्न दुईवटा टोयोटा ल्यान्ड क्रुजर गाडी किनेको थियो । एउटा गाडी ऊर्जामन्त्रीले लगेका छन् भने अर्को प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले चढ्ने गरेका छन् । काफ्लेले चढेको गाडी नै प्रधानमन्त्रीका लागि पठाउन लागिएको स्रोतको भनाइ छ । विद्युत् प्राधिकरणले खरिद गरेका महँगा र सुविधासम्पन्न गाडीमा प्रधानमन्त्री, ऊर्जामन्त्री र नेताहरूको आँखा पर्ने गरेको छ । यसअघि निर्माणाधीन चमेलिया जलविद्युत् आयोजनाका महँगा गाडी प्रधानमन्त्री र ऊर्जामन्त्रीले प्रयोग गर्ने गरेका थिए । तर, व्यापक विरोध भएपछि सरकारले प्राधिकरणसँग ती गाडी किनेको थियो । नयाँ पत्रिकाबाट