सरिता श्रेष्ठ –
“मर्छु, रगत बगाउछु धर्तिमा कसम खाछु लाएको बर्दिमा“ यी हरफहरुले पनि स्पष्ट चित्रण झल्काउँछ, देश र जनताको सुरक्षामा खटिने ती आँटिला स्वाभावहरु अनि उनीहरुका भोगाइहरु । नेपाल र नेपाली प्रतिको माया र सद्भाव कति छ भन्ने कुरा तब थाहा हुन्छ जब उनले गरेका महान् कार्यको उच्च मूल्याङकन हुन्छ । तप तप चुहिरहेको रगतको खोलीलाई पनि कुनै प्रवाह नगरी देशको सुरक्षार्थ खटिने साहसी, कौशल प्रहरी, सेनाको प्रशंसालाई हामीले जति व्याख्या गरेपनि त्यो अपूर्ण छ । उनीहरुले गरेका ती महान् कार्यलाई सायद कसैले नी भुल्ने छैन ।
दुख सुख जिन्दगीका पृथक पाटाहरु हुन् । मानिसले यी दुई पाटाहरुलाई अलग अलग रुपमा भोगिरहेका हुन्छन् । जीन्दगी जिउदै गर्दा हरेक मोड तथा घुम्ती घुम्तीमा, उकाली ओरालीमा दुखसुखको सामना गरिरहेका हुन्छन् । सुख क्षणिक हुन्छ भने दुख सदाबहार । भनिन्छ एउटा बालकलाई जस्तो रुप दिन चाह्यो त्यस्तै बन्छ त्यहि भनाईलाई चरितार्थ गर्दै समाजलाई कुन दिशा तिर धकेल्ने हो त्यो एउटा कर्मठ प्रहरीको हातमा हुन्छ ।
हरेक ठाँउमा प्रहरीहरुको मनकारी हातको नसा जागेको छ । चाहे भूकम्पको उद्धारमा त दुर्घटना भएको ठाँउमा, चाडपर्वको समयमा हुने लुटपाट, चोरी डकैतीलाई कम गर्नका लागि महत्वपूर्ण भूमिका उनीहरुकै रहेको हुन्छ । जब हामीलाई आपत विपत आउँछ अनि हार गुहारका लागि तिनै प्रहरीलाई सम्झन्छौँ र सहयोगका लागि प्रहरीको शरण लिन पुग्छौँ ।
विशेषत अहिले चाडपर्वको समयमा सवारी साधनमा सामान्य समयमा भन्दा बढी भाडा लिएर यात्रुहरुलाई दुख दिइरहेको खबर हामी प्रशस्त मात्रामा सुनिरहेका छौँ । बोल्नेको पिठो पनि बिक्ने नबोल्नेको चामल पनि नबिक्ने नेपाली उखान यस समयमा चरितार्थ भएको छ । बढी भाडा दिएको विरोध गर्नेहरुलाई फिर्ता पनि दिएका छन् भने नबोल्नेहरुको दोब्बर तेब्बर समेत असुलेका छन् । अहिले भारतले गरेको नाकाबन्दीका कारण झनै नेपाली जनताले सास्ती बेहोर्नु परेको छ ।
त्यस्तै मारमा हुनुहुन्थ्यो चिवनका पत्रकार गोविन्द्र घिमिरे । जो चिवन देखि काठमाडौँ यात्रा गर्दै हुनुहुन्थ्यो । सामान्य समयमा भन्दा २ सय रुपैया बढी भाडा तिरेर । काठमाडौँ भित्रिने नाका धादिङको गजुरीमा रहेको गजुरी ट्राफिकले उहाँ लगायत गाडीमा सवार सबैको बढी भाडा फिर्ता गरिदियो । उहाँले फेसबुकमा स्टाटसमा नै लेखेर प्रहरीलाई वाहवाही दिनुभएको छ । धादिङको गजुरीमा रहेको प्रहरीलाई यस्तै वाहवाही दिने गिविन्द्र घिमिरे मात्र होइन गोरखा, पोखरा लगायत राजधानी भित्रिने धेरै छन् ।
चाडपर्वको मौका छोपी बढी भाडा लिने सवारी साधनलाई कार्बाही गरेको छ भने यात्रुहरुको भाडा समेत फिर्ता गरिदिएको उदारहणहरु प्रशस्त मात्रामा रहेको छ । धादिङको गजुरीमा यात्रु सहायता डेस्क स्थापना गरी अहिलेसम्म १ हजार १ सय १९ जना यात्रुहरुको भाडा फिर्ता गरिदिइ सकेको छ । भने १ सय १० यात्रुवाहक सवारी साधनलाई कार्बाही गरेको छ । विशेषत पोखरा , गोरखा लगायतका जिल्लाबाट राजधानी काठमाडौँ भित्रिने सवारी साधनले दोब्बर, तेब्बर सम्मको भाडा लिने यात्रुहरुले गुनासो गरेका थिए । त्यहि गुनासोका आधारमा प्रहरीले यात्रुहरुको भाडा फिर्ता गरिदिएर आम सर्व साधारण नागरिकको वाहवाही कमाएको छ । चाडपर्वहरुको समयमा राजमार्गमा चल्ने सवारी साधनमा हुन सक्ने चोरी, डकैती, भाडामा अनियमितता तथा अलपत्र परेका यात्रु र उनीहरुको सामानको सुरक्षाका लागि सदैव सक्रिय देखिएका छन् ।
भूकम्पको समयमा पाँच तले घरले पुरिएर २२ घण्टापछि जीवितै उद्दार गरिएका भक्तपुरका सोनिस अवाल, सोनिसलाई जीवितै उद्दार गर्ने पनि तिनै नेपाली सेना हुन् । त्यस्तै भूकम्प गएको ६ दिन पछि भग्नाबशेषबाट सशस्त्र प्रहरीले सकुशल रुपमा नुवाकोटका पेम्बा तामाङलाई उद्दार गरेका थिए । आफ्नै घर ढलेर आमाबाबु, बालबच्चाको बिचल्ली हुँदा समेत उद्दारमा खटिएका थिए । उनीहरुको त्यो महान कामलाई सारा नेपालीले वाहवाही गरेका छन् । देशको सुरक्षामा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले विपतमा परेकाहरुलाई ज्यानको प्रर्वाह नगरी काम गरे ।
विनाशकारी भूकम्पको समयमा धेरैले ज्यान गुमाए, हजारौँ घाइते भए । ती सबैको उद्दारका लागि ती मनकारी हातहरु करुणा हुन पुग्यो । आफू र आफ्नो परिवारको बेबास्ता समेत नगरि नागरिकहरुको सेवामा सदैव ज्याकै बाजी लगाएर खटिरहे । भोक प्यास तिर्खालाई भुले । उद्धारमा खटिएका सेना र प्रहरीले धेरैलाई भग्नावशेषबाट जीवितै निकालेका थिए । घाइतेहरुलाई अस्पताल पठाउने र आफैं उपचार गर्ने काम समेत गरेका थिए । उद्धारपछि राहत वितरणको काममा पनि उनीहरु सक्रिय भए । विस्थापितलाई बस्ने ठाउँ र खानेकुराको बन्दोबस्त पनि गरेका छन् । उनीहरुले गरेका ती कामलाई आम नेपालीले मुक्तकण्ठले प्रशसा गरेका छन् ।
“सेतो टोपी, सेतो पेटी, सेतै पन्जा हातमा
ह्याट लगाई सिटी बजाई खट्छु दिन रातमा”
रातदिन सुरक्षार्थ खटिने प्रहरीहरु धादिङ जिल्लालाई सुरक्षाका हिसाबले अत्यन्त संवेदनशील मानिन्छ । उत्तरमा चीनको नाका, अनि ६८ वटा जिल्ला पुग्ने राजमार्ग धादिङ जिल्लामा नै पर्ने भएको नै सुरक्षाको हिसाबले संवेदनशील मानिएको हो । राजधानीको प्रवेशद्धार र राजधानीबाट अन्यत्र जाने नाका धादिङकै राजमार्ग क्षेत्र पर्ने भएकाले यहाँ गुण्डागर्दीहरु बढे हुने गर्दछ । यसलाई नियन्त्रणका लागि पनि प्रहरीले विशेष सतकर्ता अपनाएको छ । अनैतिक कार्य गर्ने, समाजमा होहल्ला निम्त्याउनेहरुलाई प्रहरीको सक्रियतामा नियन्त्रण गरिएको छ ।
धादिङमा केहि वर्ष अगाडि तिर सडक दुर्घटना भएर धेरै मानिसहरुले ज्यान गुमाउनु परेको थियो । सवारी साधनमा यात्रुहरुको चाप बढी हुने र तीब्र गतिमा गाडी हाकेका कारण सवारी साधनहरु बढी दुर्घटना भएका थिए । यस्ता दुखत कुराहरुलाई मध्यनजर गर्दै प्रहरीले दुर्घटना न्युनिकरणका लागि विशेष कार्यक्रम संचालन गरेको थियो । यात्रु तथा सवारी चालक, सहचालकलाई दुर्घटना न्युनिरकणका कुराहरु अभियानकै रुपमा सिकाएपछि अहिले केही मात्रामा सडक दुर्घटना कम भएको छ ।
मध्यरातमा जनताको सुरक्षा दिने, व्यस्त सडकमा हिड्नका लागि ट्राफिक नियम प्रयोग गरी प्रवन्ध मिलाइदिने प्रहरीका गुनगानलाई हामीले स्यावास दिनुपर्छ । उनीहरुको कारुणिक चरित्र, पवित्र आत्मा र सहयोगी हातलाई हामीले सदैव यादगार रुपमा लिनुपर्छ ।
प्रहरीको सक्रियतामा विभिन्न आरोपमा फरार रहेका गुण्डाहरुलाई पक्रन सफल भएको छ । धादिङ प्रहरीले गुण्डा नाइके राधे भन्ने राधाकृष्ण भण्डारीलाई पक्रन सफल भएको छ । दिनेश अधिकारी चरीको हत्या प्रयास गरेको भन्दै परेको उजुरीको छानविनका लागि पक्राउ गरिएको थियो । तर फरार रहेका उनलाई प्रहरीले पक्रन सफल भएको छ । त्यस्तै हातहतियार तथा खरखजना मुद्धा लागेर फरार रहेका धादिङको सत्यदेवी गाँउ विकास समिति वडा नं ८ का २८ वर्षीय मिलन भन्ने एक बहादुर तामाङलाई कात्तिक ७ गते धादिङ प्रहरीले पक्रन सफल भएको छ । यस्ता धेरै उदारहणहरु छन् जुन काम प्रहरीको विशेष सक्रियताले सफल भएका छन् । समाजलाई गलत दिशातिर धकेल्ने यस्ता आपराधिक व्यक्तिहरुलाई प्रहरीले पक्रन सफल भएको छ ।
चाडपर्वमा सकेसम्म परिवारका सबै एकै ठाँउमा भेला हुने, जनघट हुने चाहना हरेकमा हुने गर्दछ । टाढा टाढा हुने परिवारजन, आफन्तको मिलनको अवसरलाई पनि प्रहरीहरुले त्यागेका हुन्छन् । रमाइलो गर्ने अनि परिवारजनमा खुसी साट्ने चाहनालाई एकातिर पन्छाई देश र जनताका पक्षमा निस्वार्थ खटिरहेका छन् । उनीहरुको रमाइलो जनताको सेवामा नै रहेको छ ।
सबै मानिसको गुण एकै प्रकारको हुन्छ भन्ने हुदैन । तर एकलाई पर्दा अर्कोले साथ र सहयोग चाँहि अवस्य नै गर्नुपर्छ । मानिसले सुख पाउदा मात्तिने र दुख पर्दा आत्तिने गर्नु हुदैन । प्रहरी बलले देशमा परेको कठिनाईलाई सहज रुपमा लिई त्यो अप्यारोलाई सजिलै सामना गरेका छन् । त्यसलाई हामीले सफलताको रुपमा लिनु पर्छ । दुखमा साथ दिने तथा देश र जनताको सुरक्षाको सदैव जिम्मेवारी बहन गर्ने ती मनकारी हातहरुलाई सल्युट छ ।