काठमाडौं – यतिबेला धेरै किसानलाई धान भित्र्याउने चटारो छ । तर भूकम्प प्रभावित किसानले भने धान भित्र्याउने ठाउँ भेटेका छैनन् ।
भूकम्पले तर्साएको बेला जसोतसो खेतमा पसेर रोपाइँ गरेका किसानलाई अहिले फलाएको धान राख्ने ठाउँ छैन । जाडोमा टाउको लुकाउने ठाउँ समेत नभेटेका किसानलाई बिहान बेलुका भात खानुपर्ने धान कहाँ राख्ने भन्ने चिन्ता छ ।
दोलखाको भिमेश्वरका भूकम्प पीडित किसानलाई पनि यस्तै चिन्ता छ । फाँटभरी पहेंलपुर धान छ । किसान धान काट्न र झार्न व्यस्त छन् । दिउँसोको पारिलो घाममा छरछिमेकी मिलेर फाँटमा धान काट्न त रमाइलो हुन्छ । तर दिनभर झारेको धान कहाँ राख्ने रु भन्ने चिन्ताले उनीहरुलाई सताउने गरेको छ ।
जिलु–७ पिप्लेका किसान रामकाजी खत्रीलाई पनि यही चिन्ताले छोएको छ । भूकम्पले घरबार भत्काएपछि टहरमा बस्दै आएका खत्रीलाई खेतमा फलेको धान कहाँ धन्क्याउने भन्ने पीरले सताएको छ । खत्रीले भने ‘सरकारले दिएको पलाष्टिक घामपानीले काम नलाग्ने भैसक्यो । अस्थायी टहरामा खान बस्न र सुत्न त ठाउँ पुग्दैन । त्यतिका धान कहाँ राख्ने ?’
वैशाखमा भूकम्प जाँदा बीउको जोहो गर्ने बेला थियो । तर भूकम्पले घर भत्किँदा बीउ पनि पुरियो । बल्लतल्ल बीउ खोजेर किसानले भूकम्पको पीडासँगै खेतमा पसेर रोपाइँ गरे । अहिले फाँटभरी पहेँलपुर भएर धान झुलेको छ । तर लहलह भएर फलेको धान कहाँ लगेर राख्ने रु घर भत्किएपछि किसानले जस्ता, पलाष्टिक र स्याउलाका छाप्रामुनी बसेर गुजारा गरिरहेका छन्, तर वर्षभरी खाने अन्न राख्ने ठाउँ भने भटेका छैनन् । अहिले धान राख्न पाइएन भने हिउँदमा एकातिर जाडो र अर्कोतिर भोकमरी हुने डरले धेरै पीडित छट्पटिन थालेका छन् ।
दोलखाका मात्रै होइन भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको सिन्धुपाल्चोकका किसानलाई पनि खेतमा फलेको धान धन्क्याउने ठाउँ नभएर पिरलो छ । सिन्धुपाल्चोकका धान फल्ने खेतभरी किसान पाकेको धान स्याहार्न व्यस्त छन् । तर भण्डारण गर्न ठाउँ भने छैन । सिन्धुपाल्चोक पिपलडाँडा–५ की किसान पार्वती आचार्यले भण्डारण गर्ने ठाउँको अभावमा धान खेतका गह्रामै कुहिन थालेको गुनासो गरिन् । ‘भूकम्पले घर गोठ सबै भत्कायो । हामी त जेनतेन टहरामा बसेका छौं । यो दुःखले फलाएको धान कहाँ लगेर राख्ने ?’ उनले भनिन् ।
किसानले यसअघिको खाद्य बाली मकै त रुखको हाँगामा पनि जसोतसो मिलाएर राखेका छन् । तर धानलाई ओभानो ठाउँमा राख्नुपर्छ । संकटका बेला दुःख गरेर फलाएको धान जमरा जस्तै उम्रने चिन्ता छ, भिमेश्वर नगरपालीका–६ धरमघर दोलखाका किसान सुमन भुजेललाई । भुजेलले दुखेसो पोखे, ‘भूकम्पले घरबार भत्काए पनि बीउ जोहो गरेर धान फलायौं । अब फलेको धान राख्ने ठाउँ छैन । यो सबै उम्रेर खेर जान्छ कि भन्ने चिन्ता छ ।’
भूकम्प प्रभावित जिल्लामा धान भण्डारणको लागि केही संस्थाले सुपर ग्रीन प्रो ब्याग भनेर चिनिने धान राख्ने विशेष सामग्री वितरण गरेका छन् । तर ती साम्रगी सबै किसानको घरमा पुगेको छैन । सरकारी सहायताका कार्यक्रम हेर्दा हेर्दै र पर्खंदापर्खंदै किसान थाकिसके । तर सरकार राजनीतिक किचलोमा अल्झेको छ । किसानको समस्या बुझ्ने फुर्सद छैन । सरकारले चासो नदिएको यस्तोबेला किसानले आफ्नै तरीकाले कसरी धान भण्डारण गर्ने त रु नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको कृषि वनस्पती महाशाखाका प्रमुख तथा धानबाली विज्ञ हरिकृष्ण उप्रेतीका अनुसार यस्तो बेला किसानले आफ्नै तरीकाले सुरक्षित भण्डारण गर्न सक्छन् । आफु बस्ने टहराकै छेउमा भूइँमा एक फिट जति ढुंगा र पराल मिलाएर राखी त्यसमाथि भकारी राखेर धान भण्डारण गर्न सल्लाह दिए ।
त्यसका लागि भकारीमा धान राखेपछि गोबारले लिपेर हावा नछिर्ने बनाउनुपर्छ । यसरी राखिएको भकारीको धान सुरक्षित हुने उप्रेतीको भनाई छ । भकारीलाई माथिबाट पानी पर्न नदिन पराल वा प्लाष्टिकले छोप्न सकिने उनले बताए । यसअघि मकै र आलु थन्काउने ठाउँ नपाएका किसान वर्षभरीको मुख्य बाली धान राख्ने ठाउँ नपाएर चिन्तामा छन् । सरकारको सहयोग कुर्नुको सट्टा योबेला कृषीविज्ञको सुझाव अनुसार धान भण्डारण गर्नुको अर्को विकल्प छैन । उज्यालो अनलाइनबाट