सरिता श्रेष्ठ/ १२ कात्तिक, धादिङ – भूकम्प गएको ६ महिना बितिसक्दा पनि अझैपनि सयौ मानिसहरु खुल्ला चौरमा पाल लगाएर बस्न बाध्य छन् ।
विनाशकारी भूकम्प त्यसपछि जेठ असारको चर्को घाम र पानीलाई सहेर जसोतसो जीविकोपार्जन गरेको भएतापनि अब जाडो लागेसँगै कसरी ज्यान जोगाउने भन्ने चिन्तामा पीडितहरु छन् । बैशाख १२ गते गएको भूकम्पले घरबार विहिन बनाएपछि धादिङ सदरमुकाम धादिङबेसी आसपासका खुल्ला ठाँउमा बसेकाहरुलाई चिसो कसरी कटाउने भन्ने समस्याले पिरोलेको छ ।
चिसो बढेसँगै पानी परेका कारण पालमा बस्नहरुलाई झनै समस्या परेको छ । चिसो सुरु भए लगत्तै बालबालिकाहरुमा रुघाखोकी लाग्ने निमोनिया हुने समस्या देखिएको छ । चिसो ठाँउमा आफू जोगिने कि बालबच्चाहरुलाई जोगाउने । अझै सुत्केरी भएका महिला तथा वृद्धवृद्धाहरुलाई पिरोलेको छ । पानीले सबै चिसो बनायो, न्यानो आउने ठाँउ छैन । कसरी कटाउने यो जाडो पीडितहरु बताउँछन् ।
यतिबेला भारतले गरेको नाकाबन्दीका कारण बजारमा ग्यासको चरम अभाव देखिएको छ । ग्यास छैन, आगोमा पकाउने दाउरा छैन, भएका दाउरा पनि पानीले भिज्यो अब कसरी छाक टार्ने पीडितहरु बताउँछन् । जेनतेन राहतको सामानहरु खाएर दिन कटाइरहेकाहरु अब राहत सकिदै जाँदा झनै समस्यामा परेका छन् । घर ढलेका कारण खुल्ला आकाशमा शरण लिन पुगेकाहरु आफू बाच्नका लागि अन्न जुटाउन नै गाह्रो भएको छ ।
धन्सारपाखाका शिविर ब्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर तामाङले बताए । सरकारले पीडितहरुको पुर्नबासका लागि १५ हजार रुपैया प्रदान गरिएको भएतापनि थप रकम कहिले पाउने भन्ने अन्यौलमा रहेको छ । अब त आश पनि मरिसक्यो पीडितहरु बताउँछन् ।
पालमा बस्नेहरुलाई चाडपर्व कत्ति पनि आएको छैन । चाडपर्वमा साथीहरुसँग रमाइलो गर्ने बालबच्चाहरुमा खुसी देखिन्न, वृद्धवृद्धाहरुको मुहारमा हाँसो छाएको छैन । दशै त बल्लबल्ल ट¥यो अब तिहार आउदैछ कसरी मन बुझाउने पीडितहरु बताउँछन् ।
भूकम्पपछि धादिङको उत्तरी क्षेत्र लापा तिप्लिङ सेर्तुङ र झार्लाङ गाउँ विकास समितिका अधिकाँश बस्तीहरुका स्थानियहरु पहिरोको त्रासले गाउँमा बस्न नसकेपछि सदरमुकाम आसपासका खुल्ला ठाउँहरुमा पालको अस्थायी शिविर खडा गरेर बसिरहेका छन् । सदरमुकाम धादिङबेसीको अल्छीडाँडा, साङकोषको धन्सारपाखा, दामगााडे कुमालगाउँ लगायतका ठाउँमा पालमुनिमा बस्दै आएका छन् ।