Tue. Mar 11th, 2025

बस चढेपछि एक हजार भाडा !

bus
गोरखा – पेट्रोलियम पदार्थको अभावले गर्दा दसैँ मानेर गन्तब्यमा फर्केका गोरखाका यात्रु समस्यामा परेका छन् । अहिले यहाँका ३२ ओटा ग्रामीण मार्गमा १० ओटा मात्रै सवारी चलेका छन् । यात्रुहरुले बस, जीप, ट्र्याक्टर, माइक्रोमा चर्को भाडा तिरेर गन्तब्यमा जानुपरेको गुनासो गरेका छन् ।

गोरखा बसपार्कबाट काठमाडौँका लागि छुटेका यात्रुबाहक गाडीले प्रतियात्रु रु एक हजार भाडा उठाएका छन् । ‘छतमा चढेर यात्रा गर्दा पनि सिटमा बसेकै भाडा लिन्छन्’ मसेलका विशाल गुरुङ्गले भने– ‘एउटै गाडीमा १८० जनाभन्दा बढी यात्रु कोचिएका हुन्छन् । प्रत्येक यात्रुसँग रु एक हजारका दरले भाडा उठाउँछन् ।’

भच्चेक बजार, बालुवा बजार, बारपाक, भालुस्वाँरा, हर्मी, चोरकाटे, छोप्राक, पालुङटार, आँपपीपललगायत ठाउँका यात्रुहरु गाडीमा कोचिएर यात्रा गर्न बाध्य छन् । साविकको भाडाभन्दा दोब्बर, तेब्बर भाडा उठाएर यातायात व्यवसायीले ग्रामीण रुटमा बस चलाएका छन् । दैनिक २० भन्दा बढी सवारी यात्रु बोकेर काठमाडौँ गएपनि इन्धन अभाव भएपछि दैनिक छ ओटामात्रै सवारी चल्दै आएको छ ।

चितवनको ठोरीबाट महङ्गो मूल्य तिरेर ल्याएको तेल बसमा राखेर यातायात व्यवसायी समिति गोरखा र पृथ्वी राजमार्ग बस सञ्चालक समितिका व्यवसायीले बस, माइक्रो, ट्रक चलाएका छन् । रातो प्लेटका मालबाहक जीपले पनि नियम विपरीत यात्रु बोकेका छन् । गोरखास्थित कलश आयल स्टोर्सबाट भने रुटमा छुटेका बसलाई मात्रै इन्धन उपलब्ध गराएको छ । स्थानीय प्रशासनले यात्रु लिएर काठमाडौँ गएका सवारीलाई ३० लिटरका दरले इन्धन उपलब्ध गराएको हो । इन्धन नपाएर अधिकांश सवारीसाधन बसपार्क ग्यारेजमा थन्किएको व्यवसायीले जनाएका छन् ।

गोरखा–काठमाडौँको भाडा माइक्रोमा रु ३९० हो । तर, पेट्रोलियम पदार्थको अभाव भएको मौका छोपेर व्यवसायीले रु एक हजार भाडा उठाएका हुन् । त्यस्तै मिनीबसको भाडा रु ३५० भएपनि अहिले व्यवसायीले प्रतियात्रु रु सात सय भाडा लिँदै आएका छन् । बसमा कोचिएर यात्रा गर्दा यात्रुहरु बेहोससमेत हुने गरेका छन् । एउटै गाडीमा छ जनासम्म बेहोस हुने गरेको यात्रुहरु गुनासो गर्छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाले बसको छतमा बसेर जोखिमपूर्ण रुपमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । कच्ची सडकमा छत चढेर यात्रा गर्दा दुर्घटना हुने भएकाले छतमा यात्रु नचढाउन व्यवसायी, यातायात मजदुर र यात्रुलाई प्रहरीले आग्रह गरेको छ । तर, व्यवसायीले छतमा राखेर यात्रुलाई गन्तब्यमा पुयाइआएका छन् ।

मझुवा देउराली, बाह्रकिलोलगायत मुख्य चोकमा प्रहरी, ट्राफिक प्रहरीले छतमा बसेका यात्रुलाई ओराले पनि प्रहरी बिट कटेपछि यात्रुहरु छतमा चढेर यात्रा गर्दै आएका छन् । यातायात व्यवसायी समिति गोरखाका अध्यक्ष नारायण खत्रीले छतमा जोखिमसाथ यात्रा नगर्न यात्रुलाई आग्रह गरिएको बताए ।

‘छतमा चढेर यात्रा नगर्नुहोला’ उनले भने, ‘पेट्रोलियम पदार्थको जोहो गरेर सकेसम्म यात्रुलाई सुरक्षितसाथ गन्तब्यमा पु¥याउने हाम्रो तयारी छ ।’ रासस

About The Author

अन्य समाचारहरु: