Tue. Mar 11th, 2025

शक्तिपीठमा पशुबलि ४० प्रतिशत घट्यो

bali

नुवाकोट – नुवाकोटका विभिन्न शक्तिपीठहरुमा बुधवार महाअष्टमी पर्वको अवसरमा विशेष मेला लागेको छ । कतिपय शक्तिपीठहरुमा कालरात्री भइरहेका छन् ।

विनासकारी भुकम्प तथा नाकावन्दीको पीडाका कारण यसवर्ष वडादशैंको क्रममा नुवाकोटका विभिन्न शक्तिपीठहरुमा पशुबलि ४० प्रतिशत घटेको छ । नुवाकोटको प्रसिद्ध जालपादेवी, भैरवी, निरञ्जना, पञ्चकन्यालगायतका मन्दिरहरुमा गत वर्षको तुलनामा पशुबलि घटेको हो ।

धर्मका नाममा पशुबलि दिनु उचित नहुने आवाज उठिरहेको बेला नुवाकोटका प्रमुख शक्तिपीठलगायतका मुख्य शक्तिपीठहरुमा बडादशैँको महाअष्टमीका अवसरमा दिने पशुबलिको सङ्ख्यामा कमी आएको हो । सर्वसाधारणले पशुअधिकारका पक्षमा सचेत हुँदै पशुको वदलामा अन्य वस्तु चढाउन थालेका कारण पशु वलि घटेको भैरवी मन्दिरका पुजारी हरिमानसिह डंगोलले बताए ।

उनका अनुसार सर्वसाधारणले पशुबलिको सट्टामा नरिवललगायतका सामाग्री चढाउन थालेका छन् । विभिन्न मन्दिरमा वर्षौँदेखि संलग्न पूजारीहरुका अनुसार पछिल्ला पाँच वर्षयता पशुबलिको सङ्ख्यामा कमी आएको हो । नुवाकोटको मुख्य भैरवी मन्दिरमा विगत ६५ वर्षदेखि पुजारी धामी रहेका डङ्गोलका अनुसार हाल अधिकांश दर्शनार्थीले पशुबलिको सट्टा नरिवल चढाउने गरेका हुन् । ‘पशुबलि रोकिएको त छैन । तर, चार पाँच वर्ष अगाडिसम्म पनि वडादसैँको अवधिमा ५० वटाभन्दा बढी बोकाको बलि हुने गरेको थियो’, उनले भने, ‘चार-पाँच वर्षदेखि १०(१५ वटामा सीमित भएको छ ।’

‘मानिसमा पशुबलि दिएर धर्म हुन्न भन्ने चेतना जागेर हो वा महँगीले हो, यसै भनेर ठोकुवा गर्न सकिन्न’, धामी डङ्गोलले अगाडि भने, ‘मानिसले पशुबलिमा कम विश्वास गर्न थालेको जस्तो देखिन्छ । २००८ सालदेखि धामी भएर काम गरिरहेका ७५ वर्षीय डङ्गोल पहिले÷पहिले बलि दिनेको ताँती लाग्ने गरेको अनुभव सुनाउँछन् ।

फूलपाती, महाअष्टमी, महानवमी, दशमीलगायतका दिनमा पशुवलि घटेको बताइएको छ । ‘पहिले पशुबलि दिनेहरु लाइनमा बस्नुपर्दथ्यो, पालो पाइनसक्नु हुन्थ्यो’, पुराना दिन सम्झँदै वुधवार जालपादेवी मन्दिरमा पूजापाठ गर्दै दुईपीपलका विश्वनाथ अधिकारीले भने, ‘अहिले फाट्टफुट्ट मात्र बलि दिनेहरु आउँछन् । पशुबलिको विषय संस्कृतिसँग जोडिनु हुँदैन ।’ जालपादेवी मन्दिरमा पूजापाठ तथा बलिमा संलग्न शंकर चित्रकारले यस वर्ष महाअष्टमीको दिन बलि घटेर पाँच बोका र १२ कुखुरामा सीमित भएको बताए ।

नयाँ पुस्ता धर्मकर्ममा आस्थावान देखिए पनि पशुबलिले पुण्य प्राप्त हुन्छ भन्ने धारणा घट्दै गएकाले बलिको चलन पनि घटेको नुवाकोट सम्पदा संरक्षण मञ्चले जनाएको छ । भैरवी मन्दिरमा मात्र होइन, देवीघाटको जालपादेवी मन्दिरमा पनि पहिलेको तुलनामा बलि दिनेको सङ्ख्या घट्दै गएको छ । नुवाकोटको बेलकोट, बुधसिङ, तारुकालगायत स्थानका देवी मन्दिरमा पनि बलि दिने चलन घट्दै गएको छ । पशुबलिको सट्टा नरिवल चढाउनेको सङ्ख्या बढ्दै गएको नुवाकोट देवीघाटका कृष्णवहादुर कोइरालाको भनाइ छ ।

यस्तै, नुवाकोटको पुर्वी भेगमा रहेको धार्मिक तथा ऐतिहासिक निरञ्जना भगवती मन्दिरमा यस वर्ष निकै कम बलि दिइएको पुरेत नारायण पौडेलले बताए । अन्नपूर्णबाट

About The Author

अन्य समाचारहरु: