२ कात्तिक, नयाँदिल्ली – ‘नयाँ संविधान कहिले संशोधन हुन्छ रु १० या १५ दिनभित्रमा रु’ उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग भारतीय विदेशसचिव एस जयशंकरले ठाडै प्रश्न गरे ।
जबाफमा थापाले भने, ‘आन्दोलनरत मधेस केन्द्रित दललाई संवादमा ल्याउन गम्भीर प्रयास भइरहेको छ । प्रधानमन्त्री आफैंले अग्रसरता लिइरहनुभएको छ । यो हाम्रो आन्तरिक मामिला चाँडै सुल्झाउने प्रयास गर्दैछौं ।’ नयाँदिल्लीस्थित होटल ओवरायमा आइतबार जयशंकरसँग भएको भेटमा परराष्ट्रमन्त्री थापाले संविधान संशोधनका लागि संसद्मा प्रस्ताव दर्ता भइसकेको भन्दै राजनीतिक संवादबाटै समस्याको हल गर्ने प्रयास भइरहेको जानकारी पनि गराएको छ ।
थापाले नाकाबन्दी भन्ने शब्द उच्चारण नगरी भारतीय नाकाबाट मालवाहक ट्रक र पेट्रोल बोकेका ट्यांकर नेपाल भित्रिन अवरोध हुँदा चाडपर्वको मुखमा नेपालले गहिरो संकट बेहोरिरहेको भन्दै ध्यानाकर्षण पनि गराए । भेटमा सहभागी एक नेपाली अधिकारीका अनुसार थापाले दसैं आउन केही दिन बाँकी भए पनि सीमानाकाबाट निर्बाध रूपमा पेट्रोलियम पदार्थ आउन नसक्दा जनताले संकट बेहोरिरहेको बताएका थिए । ‘वीरगन्ज नाका नेपालका लागि लाइफलाइन हो ।
तीन सातायता पेट्रोलियम पदार्थ कुनै पनि नाकाबाट नेपाल भित्रिन सकेको छैन,’ थापाले भने, ‘भारतीय नाकाबाट पेट्रोलियम पदार्थ उचित सुरक्षा प्रबन्धसहित भित्र्याउन पर्याप्त सुरक्षा दिन हामी तयार छौँ ।’ भारतीय विदेश सचिवले घोषित या अघोषित कुनै पनि खालको नाकाबन्दी नलगाएको दाबी गरेका थिए । उनले मधेसी दलको आन्दोलनका बाबजुद पनि दिनहुँजसो भारतबाट केही ट्यांकर नेपालतिर तेल लिएर गइरहेको भन्दै आन्दोलन मत्थर भए भारतीय सीमा नाकामा रोकिएका गाडी सहज रूपमा जानसक्ने बताएका थिए । जयशंकरले भूकम्पपछिको पुनर्निर्माण तथा अघिल्लो वर्ष प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका ऋण तथा अनुदान सहयोगहरूको कार्यान्वयन प्रगतिबारे पनि चासो देखाएका थिए ।
परराष्ट्रमन्त्री थापासहितको नेपाली प्रतिनिधिमण्डल भारतीय विदेशसचिवको प्रस्तुतिबाट रुष्ट बनेको छ । भारतीय विदेश मन्त्रालयका नेपाल डेस्क हेर्ने सहसचिव अभय ठाकुर र काठमाडौंस्थित भारतीय राजदूत रन्जित रेसहित होटल पुगेको भारतीय टोलीको सुरुआती प्रस्तुतिबाटै नेपाली पक्षले असहज महसुस गर्यो ।भेटपछि आक्रोशित मुद्रामा देखिएका परराष्ट्रमन्त्री थापाले भने, ‘अहिलेको भारतसँगको समस्या हाम्रा लागिमात्र नभएर भारतीयहरूलाई पनि उत्तिकै घाटा हुने खालको हो ।’परराष्ट्रमन्त्री थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच आइतबार नै हैदराबाद हाउसमा भेटवार्ता भएको छ । भेटमा स्वराजले नेपाललाई जस्तोसुकै सहयोग गर्न भारत तयार रहेको भन्दै अहिले देखिएको मधेस समस्याको समाधान नेपाल आफैंले खोज्नुपर्ने बताइन् । थापाले भारतसँग सम्बन्ध बिग्रन नहुनेमा नेपाल सरकार सचेत रहेको बताएका थिए । अन्नपूर्णपोष्टबाट