Tue. Nov 26th, 2024

चाडपर्वले धादिङमा रेमिट्यान्स कारोबार बढ्यो

remitance photo

सरिता श्रेष्ठ, धादिङ – दशै सुरु भएसंगै धादिङमा रेमिट्यान्सको कारोबारमा वृद्धि भएको छ । जिल्लाका सबैजसो कम्पनीहरुबाट बाह्य र आन्तरिक कारोबार बढेको हो ।

धादिङबेसीमा रेमिट्यान्सको कारोबार गर्दै आइरहेको कला इन्टरनेशनलका अनुसार दशै सुरु भएदेखि दैनिक ७ सय ५० भन्दा धेरै मानिसहरु कारोबारको लागि आउने गर्दछन् । अन्य समयमा एक सय ८० को हाराहारीमा मानिसहरु आउने गरेका थिए ।

पछिल्लो तीन महिनामा कला इन्टरनेशनलले ५० करोड ३३ लाख रेमिट्यान्स भित्र्याएको छ । आन्तरिक भन्दा बाह्य रेमिट्यान्स झण्डै ८ गुणाले बढि भित्रिने गरेको कला इन्टरनेशनलका प्रबन्धक रामचन्द्र गिरीले जानकारी दिए । गिरीका अनुसार यस आर्थिक वर्षको साउनदेखि यता बाह्य रेमिट्यान्स तर्फ ४३ करोड ८७ लाख ५ सय २३ रुपैया र आन्तरिक तर्फ ६ करोड ४६ लाख रेमिट्यान्स कारोबार भएको छ ।

विदेशमा रहेका नेपालीहरुले खासगरी आइएमई गरी रकम पठाउने गर्दछ । मलेसिया, साउदी, कतार, बहराइन, दुवई, अमेरिका, जापान, लन्डन, कुवेत, इराक, अफगानिस्तान लगायतका देशरुबाट रेमिट्यान्स आउने गरेको छ । यी देशहरु मध्ये सबैभन्दा बढी मलेसिया, साउदी, कतार, बहराइन, दुवई जस्ता खाडी मुलुकहरुबाट ८० प्रतिशत रेमिट्यान्स भित्रिने गिरीले बताए । विदेशबाट रकम पठाउँदा विशेषगरी आइएमई, प्रभु, वइस्टन युनियन, सिद्धार्थ, सीटि एक्सप्रेस, पृथ्वी एक्सप्रेस, सेवा मनि ट्रान्सफर, सूर्यदयो रेमिट प्रयोगमा आइरहेको छ ।

महिलाका नाममा ७० प्रतिशत
पुरुषको तुलनामा महिलाहरुको नाममा बढी रेमिट्यान्स आउने गरेको छ । सामान्यतया ७०% रकम महिलाको नाममा आउने गर्दछ । श्रीमान वैदेशिक रोजगारमा जाने र स्वेदशमा रहेका श्रीमतीलाई पेसा हालिदिने भएका कारण पनि महिलाको नाममा बढी मात्रामा रेमिट्यान्स आउने गरेको पाइएको हो ।

About The Author

अन्य समाचारहरु: