Wed. Mar 5th, 2025

ओनसरी घर्ती नेपालको पहिलो महिला सभामुख

onsari

२९ असोज, काठमाडौं –  एकीकृत नेकपा माओवादीका सभासद ओनसरी घर्ती नेपालको संसदीय इतिहासमा पहिलो महिला सभामुख बनेकी छिन् । व्यवस्थापिका संसदको शुक्रबारको बैठकले सत्तारुढ दलको तर्फबाट उम्मेदवार बनेकी घर्तीलाई सभामुख पदमा निर्विरोध निर्वाचित गरेको हो । सभामुखमा नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापाले पनि उम्मेदवारी दिएकी थिइन् । तर, थापाका समर्थक प्रेम सुवालले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्विरोध निर्वाचित भएकी हुन् ।

रोल्पाको जंकोट १ माडिचौरमा जन्मिएकी ३८ वर्षकी घर्ती रोल्पा २ बाट प्रत्यक्ष निर्वाचित सभासद हुन् । माओवादी सशस्त्र जनयुद्धमा लागेकी घर्तीले १० वर्ष भूमिगत जीवन विताएकी थिइन् ।

उनले एसएलसीसम्म अध्ययन गरेकी छन् । उनले यसअघि संविधानसभा उपसभामुख थिइन् । नयाँ संविधान बनेसँगै तत्कालीन सभामुख सुवास नेम्वाङ र उपसभामुख घर्तीले राजीनामा दिएका थिए ।

यस्तै उपसभामुखमा राप्रपा नेपालका सभासद गंगाप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् । नेमकिपाका सभासद डिल्लीप्रसाद काफ्लेले उम्मेदवारी दिएको भएपनि फिर्ता लिएपछि यादव संसदको उपसभामुखमा निर्विरोध निर्वाचित भएका हुन् ।

About The Author

अन्य समाचारहरु: